राजविराज, १८ साउन । झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादवको पति महेन्द्र यादवलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ ।
बिहीबार सप्तरी जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका महेन्द्र बिहिबार अदालतमा हाजिर भएका थिए ।
झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको अभियोगमा उपमेयर मीरा यादव एक लाख धरौटीमा रिहा भएकी छिन् । डाक्नेश्वरी नगरपालिका ३ निवासी कृष्ण कुमार यादवले गत असार १७ गते मिरा यादव र उनका पति महेन्द्र यादव विरुद्ध दुई देशको नागरिकता लिएको भन्दै नागरिकता सम्बन्धि कसुर मुद्दा दर्ता गराएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |