राजविराज, ६ भाद्र । दाइजो नल्याएको निहुँमा हत्या गरिएका आरती साहको परिवारलाई न्याय दिन माग गर्दे समाजवादी महिला संघ सप्तरीले बुधबार सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारी मार्फत सरकार लाई ध्यानाकर्षण गराएको छ ।
धनुषा जिल्ला उपमहानगर पालिका – ९ थापा चौक बस्ने आरती साहलाई दाइजोको निहुँमा उनको पति मोतिबाबु साह र परिवारका सदस्य समेत मिली जेठ ६ गते मारेको तथा उक्त घटना क्रमलाई लिएर न्यायको लागि ६८ दिन देखि काठमाडौको माइतीघर मण्डलामा पीडित पक्ष धर्नामा बसेको दृश्यले समाजवादी महिला संघ सप्तरीको गम्भीर ध्यानाकर्षण भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
दाइजोको निहुँमा बारम्बार यस्ता महिला हिंसाका घटना घटिरहेको अवस्थाले गर्दा संविधान प्रदत्त महिलाका हकहरु ओझेलमा परेको समाजवादी महिलासंघले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
समाजवादी महिला संघ सप्तरीका अध्यक्ष रमिला साहको नेतृत्वमा रहेको टोलीमा मधेश प्रदेश सदस्य गिता साह, जिल्ला उपाध्यक्ष मन्जु खड्का, उपसचिव आशा कुमारी तामाङ लगायतका महिला नेतृहरुको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |