सप्तरी, १३ भाद्र । पछिल्लो एक साताको अवधीमा सप्तरीका दुई जना पालिका प्रमुख भ्रष्टाचारको मुद्दा लागेर निलम्बन भएका छन् । यो सँगै सप्तरीमा भ्रष्टाचार मुद्दा लगाएर निलम्बन हुने पालिका प्रमुखहरुको संख्या चार पुगेको छ ।
पछिल्लो पटक बुधवार सप्तरीको बोदेबर्साइन नगरपालिकाका प्रमुख मेयर आतेशकुमार सिंह भ्रष्टाचारको मुद्दा लागेर निलम्बन भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसान्धन आयोगले मेयर सिंहसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत धनश्याम यादव, पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, लेखापाल सरोजकुमार मण्डल, तत्कालिन वडा ४ का अध्यक्ष रामानन्द चौधरी, कार्यपालिका सदस्य श्रीप्रसाद भगत तथा माँ जगदम्बा कृषक समुहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा आर्थिक वर्ष २०७७र७८ मा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जगदम्बा कृषक समुहको नाममा मेयरसहितका आठै जना आरोपीले लक्षित वर्गलाई बाख्रा बितरण बिना १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँको फर्जी बिल बनाई भुक्तानी दिएर भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ ।
यसअघि गत भदौ ६ गतेदेखि भ्रष्टाचार सम्बन्धी मुद्दामा अनुसन्धानकालागि सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशकुमार यादव अख्तियारको हिरासतमा छन् ।
उक्त पालिकाका लेखापाल टेकनारायण यादव र कम्प्यूटर अपरेटर विरेन्द्रकुमार यादव गत साउन ३१ गते सोलार बत्ती जडान सम्बन्धि योजनामा उपभोक्ताबाट ३ लाखको चेक र २ लाख नगद घुससहित अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका थिए ।
सोही मुद्दाको अनुसन्धानमा गाउँपालिका अध्यक्ष यादवको नाम पनि आएपछि उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
यस्तै भ्रष्टाचारकै मुद्दामा यसअघि सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र राजविराज नगरपालिकाका मेयर भिमराज यादव निलम्बन भईसकेका छन् । शम्भुनाथका मेयर गुप्ताको मुद्दा चालु अवस्थामा रहेको छ भने राजविराजका मेयर यादवको मुद्दा विशेष अदालतबाट आंशिक फैसला भई दोषी ठहर भईसकेका छन् । उनी सर्वोच्चमा पुनरावेदन गर्ने वा राजीनामा दिने भने विषय सार्वजनिक हुन सकेको छैन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |