राजबिराज । सप्तरीको राजबिराज नगरपालिकाका स्थानीय सेवाका कर्मचारीहरूले प्रशासनिक संघीयताको पूर्ण कार्यान्वयन आधार र तीन तहकै कर्मचारीहरूको समान अधिकार भन्ने मूल नाराका साथ विभिन्न माग राखी पेन डाउन गरेका छन् ।
स्थानीय तह कर्मचारी संघर्ष समितिले देशैभरी पालिका र केन्द्रिय स्तरमा जारी आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविणलाई सोमबार ज्ञापनपत्र बुझाउदै पेन डाउनको घोषणा गरेको हो ।
पालिकाका कर्मचारीहरूले नगर स्तरीय संघर्ष समिति गठन गरेर केन्द्रिय संघर्ष समितिले तय गरेको तालिका अनुसार अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने गरि अनिश्चित कालिन रुपमा पेन डाउनमा उत्रिएको उल्लेख छ ।
संघीय सरकार मन्त्री परिषदको बैठकले संघीय निजामती सेवा विधेयक २०८० पारित गरि संघीय संसद्मा पेश गर्ने निर्णय गरेकोले उक्त विधेयकमा स्थानीय सेवाका कर्मचारीहरूले सेवा सुरक्षा ,वृत्ति विकास लगायतका विषयमा स्पष्टता नभएकोले अनिश्चितकालीन पेन डाउन गरेको कर्मचारी संघर्ष समितिका सदस्य मनोज यादबले बताए ।
राजबिराज नगरपालिकामा कार्यरत कर्मचारीहरूले मनोज यादबको नेतृत्वमा संघर्ष समिति चयन गरि आन्दोलनमा उत्रिएका छन् ।
उक्त विरोध कार्यक्रममा राजविराज नगरपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारीहरू समेत विरोध कार्यक्रममा उत्रिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |