राजबिराज । त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स ( युएई) हङकङसँग ६९ ले पराजित भएको छ ।
हारका बाबजुत पनि युएईले फाइनलमा स्थान बनायो । दुवै टोलीले समूह चरणका चार खेलबाट समान दुई अंक जोडे पनि युएई रनरेटमा अगाडि रह्यो ।
उपाधिका लागि युएईले बिहीबार घरेलु टोली नेपालको सामना गर्नेछ । नेपालले समूह चरणका चारै खेलमा जित निकालेको थियो ।
मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा हङकङले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको युएईले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै १ सय ४३ रन मात्र बनाउन सक्यो ।
युएईका लागि खालिद शाहले ३५, निलान्स केसवानीले अविजित ३१, बसिल हामिदले अविजित ३० र अलिशान शराफुले ३० रन बनाए ।
छैटौं विकेटका लागि केसवानी र हामिदले अविजित ६२ रनको साझेदारी गरे ।
हङकङका लागि एहसान खान, आयुश शुक्ला, नस्रुल्लाह राना र यासिम मुर्ताजाले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २ सय १२ रनको योगफत तयार पारेको थियो ।
हङकङका लागि मार्टिन कोएट्जीले ५५ बलमा १० चौका र चार छक्काको मद्दतले सर्वाधिक ८६ रनको योगदान गरे । यसैगरी बाबर हायतले २० बलमा समान पाँच चौका र छक्काको मद्दतले अविजित ६० र अन्शुमन रथले ४१ रन बनाए ।दोस्रो विकेटका लागि कोट्जी र रथले १ सय ६ रनको साझेदारी गरेका थिए । युएईका लागि निलान्स केसवानी, सञ्चित शर्मा र अकिफ राजाले समान एक विकेट लिए ।
यसअघि हङकङले नेपालसँग ६ विकेट र ७९ रन तथा युएईसँग ६ विकेटको पराजय व्यहोरेको थियो । युएई पनि नेपालसँग सात विकेट र पाँच विकेटले स्तब्ध बनेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |