राजबिराज । मधेश प्रदेशका नीति आयोगका सदस्य डा। सोहन प्रसाद साहले हुलाकी राजमार्गलाई पूर्णता दिई संचालनमा ल्याउन सके हजारौँले रोजगारी पाउने बताएका छन् ।
हुलाकी राजमार्गमा रोजगारी सिर्जना गर्न सुझाव संकलन गर्ने उद्देश्यले सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो ।
नीति आयोगका सदस्य डा। साहले प्राप्त सुझावलाई आत्मसात गर्दै मधेश सरकारको आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने बेरोजगारी समस्या समाधानको प्रमुख आधारको रुपमा रहेको हुलाकी राजमार्गलाई यथाशीघ्र पूर्णता दिई संचालनमा ल्याउँनुपर्नेमा जोड दिए ।
स्थानीय सरकारले विशेष योजना ल्याउन नसक्दा मधेश प्रदेशमा बजेट कम आएको उल्लेख गर्दै वक्ताहरूले रोजगारी सिर्जना गर्ने नीति निर्माणमा आयोगले भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।
राजमार्ग निर्माणमा भएको ढिलासुस्तीले स्थानीय स्तरमा रोजगारीको सम्भावना नदेखेकाले हजारौं युवाहरू विदेश पलायन हुनुपरेको बताए ।
हुलाकी राजमार्ग संचालनमा ल्याउन नखोज्नुको कारण पत्ता लगाई छोटोबाटोबाट काम अगाडि सार्ने आवश्यक नीति ल्याउनुपर्ने जोड दिदै वक्ताहरूले राजमार्गको संचालनसंगै कृषि, पर्यटन, शिक्षा, घरेलु तथा साना उद्योगको स्थापनाबाट रोजगारी आफै सिर्जना हुने विश्वास व्यक्त गरे ।
मधेश प्रदेशमा हुलाकी मार्गसँग जोडिएको ३६ पालिकाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न जिल्ला स्तरीय संयन्त्र बनाएर अगाडि बढ्न सके ठुलो सङ्ख्यामा युवाहरू स्वरोजगार हुने उनीहरूको दावी थियो ।
कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सचिव विपि साह, जसपा केन्द्रिय सल्लाहकार एवम् राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी, जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादव, कार्यक्रममा राजविराज नगरपालिकाकी उपप्रमुख इसरत परविन, निर्माण व्यावसायी संघ सप्तरीका अध्यक्ष अनेश्वार दास, विभिन्न राजनीति दलका प्रतिनिधि, उद्योग व्यवसायीहरू लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |