राजविराज । सप्तरी सहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व आइतबार राति सम्पन्न भएको छ । द्वापर युगका पौराणिक पात्र सामा चकेवा श्रीकृष्ण पुत्री सामा र उनका प्रेमी चक्रधरको अमर प्रेमको सम्झनामा यस पर्वमा खेलिने खेल कात्तिक शुक्ल पञ्चमीदेखि शुरु भएर पूर्णिमाका दिन समापन गरिने परम्पराअनुसार आइतबार राति सम्पन्न गरिएको हो ।
यसैक्रममा राजविराज नगरपालिका ६ स्थित शान्ति नगरमा समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष रमिलादेवी साहको अध्यक्षता तथा पार्टी नेत्री पुनम यादवको प्रमुख आतिथ्यमा एक समारोहका बिच समाचकेवा पर्व मनाइएको हो ।
कार्यक्रममा समाचकेवाको मूर्ति प्रदर्शन, समाचकेवा पर्वको गीत तथा नृत्य प्रस्तुत गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा जसपाकी केन्द्रिय सदस्य गिता यादव, समाजवादी महिला संघ सप्तरीकी कोषाध्यक्ष उषा देव, सदस्य आशा साह, सीता साह लगायतका महिला नेत्रीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बाल कलाकारहरू उर्जा साह, खुश्बु साह, लक्ष्मी साह लगायतकाले नृत्य प्रस्तुत गरेकी थिइन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |