राजविराज । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा किर्तै कागजात बनाएका आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
अग्नीसाईर कृष्णसवन गाउँपालिका वडा नम्बर ४ का तत्कालीन वडा सचिव रमेश घिमिरे र कार्यालय सहयोगी देबकान्त चौधरीलाइ अदालतले आइतबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।
कम उमेरकी बालिकाको जन्म दर्ता बढाएर बनाइदिने सचिव घिमिरे र कार्यालय सहयोगी चौधरीलाई कागजात किर्ते मुद्दामा दुबैलाई जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
वडा सचिव घिमिरेसहितका आठ जना मिलेर कम उमेरकी आफ्नी छोरीको बढी उमेर बढाएर जन्मदर्ता बनाएको भन्दै अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका वडा नम्बर ४ का ललित इसरले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा प्रहरीले किर्ते मुद्दा चलाएको थियो ।
ललितले सचिव घिमिरे, कार्यालय सहयोगी चौधरी, कम्प्युटर अपरेटर सुनिता चौधरी, किर्ते जन्म दर्ता बनाउन आउने बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ का नारायण राम, शिबु राम, जितु राम, मनोज राम र अशोक रामबिरुद्ध जाहेरी दिएका थिए ।
जाहेरीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । अन्य व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |