राजबिराज । राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताहरुले सात बुँदे माग राख्दै आइतबार तालाबन्दी गरेको छ ।
जनमतले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै कार्यालयमा तालावन्दी गरेको हो ।
विश्वविद्यालयमा दलिय क्रुरुता बन्द गर, गैर बैधानिक कार्यमा रोक लगाउ, विश्वविद्यालयको डिपिआरमा भएको भ्रष्टाचारको छानबीन गर, ठेक्कापट्टामा भइरहेको मिलोमतो बन्द गर भन्ने माग उनीहरुले राखेका छन् ।
त्यस्तै परिक्षा बोर्ड बिना लिएको परिक्षाको छानबीन गर, नियुक्तिमा राजनीतिकरण बन्द गर र ऐन कानुनलाई पुर्ण रुपमा कार्यन्वयन गर भने माग पनि राखेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवलाई अंकित गर्दै ज्ञापन पत्रमा भनिएको छ,’जनताबाट बहिष्कृत नेता वा पात्रको ईशारामा अनियमितता तथा भ्रष्ट कामलाई अगाडि बढाउनु विश्वविद्यालयको दुर्भाग्य हो।’
माग पुरा नभएसम्म विश्वविद्यालयमा तालाबन्दी रहने जनमतले जनाएको छ । सोमबार राजविराज नगरपालिका-१३स्थित विश्वविद्यालयको शिलान्यास कार्यक्रम तय गरिएको छ ।
शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि जनमतका कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् ।
जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि नमान्ने जनमतका कार्यकर्ताहरुको भनाई छ भने अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने जसपा कार्यकर्ताहरुको अडान रहेको छ
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |