राजविराज । मधेश कृषि विश्वविद्यालयको नव निर्मित भवनको एक कार्यक्रम विच सोमवार शिलान्यास गरिएको छ ।
राजविराज नगरपालिका वडा नम्बर-१३ स्थित बिषहरियामा कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सराेज यादवले संयुक्त रूपमा भुमिपुजन गरी भवनको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा पूर्व मुख्य मन्त्री लालवावु राउत , अर्थमन्त्री सञ्जय यादव, महिला, बालबालिका तथा खेलकुद मन्त्री सुरिता साह, पूर्व अर्थमन्त्री शैलन्द्र शाह, राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत प्रविन, जसपाका प्रवक्ता मनिष सुमनलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
मधेश प्रदेशसभाबाट ऐन पारित भई स्थापित भएको विश्वविद्यालयका लागि प्रदेश सरकारले आर्थिक वर्ष ०७८/०७९ मा एक अर्ब ४९ करोड रुपैयाँ बहुवर्षीय योजना शीर्षकमा सुनिश्चित गरेको थियो ।
त्यसअनुसार भवन निर्माणका लागि गत आर्थिक वर्षमा ३१ करोड पठाइएको छ भने चालू आर्थिक वर्षमा ३० करोड विनियोजन भएको छ । विश्वविद्यालयको २६ बिघा आठ कट्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र ल्याब गरी १२ वटा भवन निर्माणका लागि एक अर्ब रुपैयाँमा ठेक्का बन्दोबस्त गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |