राजविराज । सप्तरीका १ लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको छ । ९ महिना देखी १५ वर्षमुनिका करिब १ लाख ८७ हजार ८ सय ९२ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने तयारी गरिएको हो ।
सप्तरीका १८ वटा पालिकामा तिन चरणमा दादुरा–रुबेला विरुद्धको खोप लगाइने जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य इकाई कार्यालय सप्तरी द्वारा राजविराजमा सोमबार एक कार्यक्रम आयोजना गर्दै उक्त जानकारी गराएको हो ।
दादुरा रुबेला खोप अभियान खोप समन्वय समिति, संचारकर्मी र सरोकारवाला हरुसंगको अन्तरक्रिया एवम् छलफल कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले फागुन १३ गतेदेखि चैत २ गतेसम्म खोप अभियान संचालन गर्ने बताए ।
पहिलो चरणमा फागुन १३ गते देखि १७ गतेसम्म सप्तकोशी, कंचनरुप, हनुमान नगर नगरपालिका, तिरहुत, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा खोप लगाइने जानकारी दिए । यस्तै, दोश्रो चरण अन्तर्गत फागुन २० गतेदेखि २४ गतेसम्म राजगढ, छिन्नमस्ता, विष्णुपुर, बलानविहुल गाउँपालिका डाक्नेश्वरी र बोदेबर्साइन नगरपालिकामा खोप अभियान संचालन हुने बताए ।
यसैगरी तेश्रो चरणको कार्यक्रम अन्तर्गत फागुन २७ गतेदेखि चैत २ गतेसम्म सुरुङ्गा, खडक, शम्भुनाथ, राजविराज नगरपालिका र रुपनी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा खोप अभियान संचालन गरिने जानकारी दिए ।
दादुरा–रुबेला खोप जिल्लाका ८०८ वटा खोप केन्द्रमा लगाइने स्वास्थ्य इकाई कार्यालय सप्तरीका खोप सुपरभाइजर धिरेन्द्र प्रसाद साहले जानकारी दिए ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रजिअ किरण थापा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्वी बज्राचार्य, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका प्रमुख सुरेन्द्र कोइराला, गैसस महासंघ सप्तरीका उपाध्यक्ष बलदेव मण्डल, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |