राजबिराज । नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवलकिशोर साहलाई गृह जिल्ला सप्तरीमा भव्य स्वागत गरेका छन् ।
मन्त्री नियुक्त भएपछि हवाई मार्गबाट पहिलो पटक गृह जिल्ला आएका मन्त्री साहलाई जसपा नेताकार्यकर्ताहरूले राजविराज विमान स्थलमा शुक्रबार स्वागत गरेका हुन् ।
जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा हजारौँको संख्यामा विमान स्थल पुगेका जसपा नेताकार्यकर्ताले मन्त्री साहलाई फूलमाला, खादा लगाएर स्वागत गरे । मन्त्री साहसंगै आएका पूर्वमन्त्री मृगेन्द्र सिंह यादवलाई समेत नेताकार्यकर्ताले माला अबिर लगाएर स्वागत गरे ।
उक्त अवसरमा पार्टीका कार्यकारिणी समिति सदस्य, राजनीति समिति सदस्य, केन्द्रिय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरु, जिल्लाका पदाधिकारी तथा जिल्ला सदस्यहरू, विभिन्न पालिकाका पार्टी अध्यक्ष तथा पदाधिकारी, विभिन्न भातृसंगठनका केन्द्र तथा जिल्ला पदाधिकारीलगायतका पार्टीका समर्थक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
गृह जिल्ला आएका मन्त्री साहले राजविराज स्थित गजेन्द्र चौक पुगेर स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेपछि राजविराज ८ स्थित डिभिजनल वन कार्यालयद्वारा आयोजित काठ विक्री डिपो उद्घाटन गरे ।
बन मन्त्री साह जसपा सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित होलि पर्वको शुभकामना आदानप्रदान कार्यक्रम तथा आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विभिन्न कार्यक्रममा सरिक भई काठमाडौँ फर्किने कार्यक्रम रहेको जसपा सप्तरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |