राजविराज । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको एक भाले गैँडा सप्तरीको कंचनरूप नगरपालिका वडा नम्बर ५ स्थित कोशी टप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा छाडिएको छ ।
वन तथा वातावरण मन्त्री नवलकिशोर साहको उपस्थितिमा शनिबार एक कार्यक्रमका बिच उक्त भाले गैंडा छाडिएको हो ।
यहाँ यसअघि दुई वटा पोथी गैंडा छाडिएको थियो । गत १० असोजमा चितवनबाटै पुष्पा र अन्जली नामका दुई पोथी गैंडा ल्याइएको ६ महिनापछि भाले गैंडा ल्याइएको कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रमेश यादवले जानकारी दिए । उनका अनुसार गैँडाको बंश विस्तार गर्ने योजनाका साथ यो गैंडा यहाँ ल्याइएको छ ।
गैंडा छोड्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले पोथी र भाले दुबै ल्याइएपछि गैँडाको वंश वृद्धि हुने विश्वास व्यक्त गरे । उनले गैँडाको वंश वृद्धि भएपछि कोशी टप्पु वन्यजन्तु आरक्षमा पर्यटकीय क्षेत्रमा थप बल पुग्ने बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |