राजबिराज । भारतको घरेलु क्लबसँग त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्ने तयारीमा रहेको नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीलाई बिदाइ गरेको हो ।
भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरका दुईवटा क्लबसँग टी-२० शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म हुने त्रिकोणात्मक शृङ्खलामा नेपालले भारतको गुजरात र बरोडा क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाली टोलीले जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेल्न लागेको हो । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, क्यानका सचिव पारस खड्का, महाप्रबन्धक उत्सव ढुंगानालगातयले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरे ।
एसएमएस फ्रेन्ड्सिप कप’ नाम दिइएको उक्त त्रिकोणात्मक शृङ्खलाको पहिलो खेल मार्च ३१ तारिखमा नेपाल र गुजरातबिच खेलिने छ । दोस्रो खेल अप्रिल १ तारिखमा गुजरात र बरोडाबिच हुनेछ । तेस्रो खेल नेपाल र बरोडाबिच अप्रिल २ तारिखमा खेलिने छ ।
यसैगरी अप्रिल ३ तारिखमा नेपाल र गुजरातबिच खेल हुनेछ । अर्को खेल अप्रिल ४ तारिखमा बरोडा र गुजरातबिच खेलिने छ । लिग चरणको अन्तिम खेल अप्रिल ५ तारिखमा नेपाल र बरोडाबिच खेलिने कार्यक्रम रहेको छ ।
त्यसपछि लिग तालिकाको सबैभन्दा माथि रहने दुई टोलीबिच अप्रिल ७ तारिखमा शृङ्खलाको फाइनल खेल खेलिने छ । भारत प्रस्तान गर्नुअघि नेपाली टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ टोलीसँग दुईवटा टी-२० खेलको शृङ्खला खेलेको थियो । शृङ्खलामा नेपाल २-० ले विजयी भएको थियो ।
भारत भ्रमणका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकाश चन्द रहेका छन् ।
नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई रहेका छन् । आईसीसी टी-२० विश्वकपका लागि भने नेपालले हालसम्म टोलीको घोषणा गरेको छैन ।
गुजरात र बरोडा दुवै भारतको घरेलु क्रिकेटका बलिया टोली हुन् । यी दुवै टोलीले भारतको चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफी खेल्छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |