राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा बिहीबार गरिएको तालाबन्दीप्रति पाँच वटा पत्रकार सङ्गठनका जिल्ला अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दीप्रति आपत्ति जनाएको छ ।
केन्द्रीय कार्यालयले देशभर शुद्धिकरण गर्ने अभियान चलाएपछि सप्तरी शाखाले पनि चलाएको भन्दै विज्ञप्तिमा भनिएको छ,’जसको हामी सबै सङ्गठनले समर्थन पनि गरेका हौं । शाखाको शुद्धिकरण निर्णयपछि कतिपयले प्रदेश समितिमा उजुरी पनि दिएका थिए । प्रदेशले सिफारिस गरी केन्द्रमा बुझाउँदा पनि कतिपयले उजुरी हालेका छन् । केन्द्रले अहिलेसम्म सदस्यता निर्क्यौल गरि नसकेको अवस्था विद्यमान छ ।
अझ स्वेच्छाले सदस्यता परित्याग गरेकाहरू पुनः आफ्नो सदस्यता कायम रहनुपर्छ भनी ढिपी कस्नु नैतिकताको विषय हुनै सक्दैन । पत्रकार महासंघ, विशुद्ध पत्रकारहरूको मात्र संस्था बन्नुपर्नेमा हामी प्रतिवद्ध छौं । यो पेशा छाडेर अन्य पेशामा गएकालाई आफै सदस्यता त्याग गर्नुपर्नेमा सदस्य रहन पाउँ भन्नु न्यायसङ्गत हुन सक्दैन ।’
यस्तै, विज्ञप्तिमा सप्तरी शाखाले साधारणसभा गर्ने मिति निर्धारण गरिसकेपछि केन्द्रले रोक्न निर्देशन दिएको भन्दै सदस्यता कायम गराउने र साधारण सभा गर्ने अधिकार अहिले शाखालाई नभएको यी सङ्गठनहरूले बुझ्न आग्रह गरेको छ ।
‘नयाँ सदस्यता दिने विषयमा महासंघले प्रक्रिया अगाडि बढाइसकेको भनी महासंघको विज्ञप्तिका यसअघि नै सार्वजनिक भइसकेको छ। तर, तालाबन्दीले उक्त काम पनि प्रभावित हुने देखिएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ’महासंघले मागलाई सकारात्मक लिदै एक चरणको वार्ता पनि गरेको हामीलाई अवगत भएको छ । अर्को चरणको वार्ता वसी समस्या समाधान गर्नुपर्नेमा त्यसतर्फ ध्यान नदिई एक्कासि ताला नै लगाउनु ठीक होइन् ।’
असहमति भए वार्ता र संवादको माध्यमले समाधान खोज्नुपर्नेमा वा अन्य रचनात्मक आन्दोलन गर्नुपर्नेमा सोझै कार्यालयमा ताला लगाउनु न्यायसङ्गत हुन नसक्ने उनीहरूको ठहर छ ।
उनीहरूले कार्यालयमा लगाइएको ताला खोली वार्ता र संवादको माध्यमले अघि बढ्न सम्बद्ध पक्षसँग विज्ञप्ति मार्फत माग समेत गरेका छन् ।
विहीबार पीडित पत्रकार समुहले तिन वर्ष बितिसक्दा पनि एक पटक पनि साधारणसभा नगरेको सदस्यता शुद्धिकरणको नाममा पक्षपात गरी सदस्यता नवीकरण नगरेको र योग्य पत्रकारलाई सदस्यता प्रदान नगरेको भन्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |