राजविराज । पत्रकारलाई कोठामा थुन्दै संचार उपकरण खोसेर दुव्र्यवहार गर्ने सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितकालाई कार्वाही गर्न प्रहरीमा जाहेरी परेको छ ।
जनप्रतिनिधि र स्थानीयले अध्यक्षविरुद्ध शुरु गरेको आन्दोलनको रिपोर्टिङ गर्न गएका पत्रकारलाई पालिका अध्यक्ष मण्डलले मंगलबार यस किसिमको दुव्र्यवहार गरेका थिए ।
नेपाल पत्रकार महासंघ सप्तरीका सचिव तथा कान्तिपुर टीभी संवाददाता रामनारायण विश्वास, पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष तथा राजविराज दैनिकका पत्रकार नवीन गुप्ता र पत्रकार महासंघका जिल्ला सदस्य तथा नेपाल समाचार पत्रकार स्थानीय संवाददाता विद्यानन्द रामलाई अध्यक्ष मण्डलसहितकाले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा केहीबेर थुनेर संचार उपकरण खोस्दै दुर्व्यवहार गरेका छन् ।
अध्यक्ष मण्डलसहितका दोषीलाई कार्वाहीको माग गर्दै जिल्ला प्रहरी प्रमुख एसपी गजुसिद्दी बज्राचार्य समक्ष जाहेरी दिएका हुन् । पीडित तिनै जना पत्रकारले दोषीलाई कार्वाही गर्न जाहेरी दिए भने संस्थागततर्फबाट नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले समेत निवेदन दिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |