राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा भइरहेको भ्रष्टाचार विरोधी आन्दोलनको समाचार संकलनमा पुगेका पत्रकारका एक टोलीलाई मंगलवार गापा अध्यक्ष ओमप्रकाश मण्डलसहितका व्यक्तिहरूले कार्यकक्षमा थुन्दै आक्रमणको प्रयास गरेको घटनाको सर्वत्र विरोध भइरहेको छ ।
राजगढ गाउँपालिकाका अध्यक्ष मण्डल र प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवले तीन जना वडाअध्यक्ष सहितका जनप्रतिनिधिलाई बाइपास गर्दै अपारदर्शीढंगले गाउँसभा गरेको‚ कुनै सूचना उपलब्ध नगराएको र पालिकामा विकास भन्दा भ्रष्टाचार बढेको भन्दै जनप्रतिनिधि सहितका स्थानीयहरु पछिल्लो केही दिनदेखि आन्दोलनरत छन् ।
सोही विषयको रिपोर्टिङमा गत मंगलवार पुगेका कान्तिपुरकर्मी आरएन विश्वास र पत्रकारद्वय विद्यानन्द राम तथा नवीनकुमार गुप्तालाई अध्यक्ष मण्डलले अधिकृतको कार्यकक्षमा किन आएको‚ कसको अनुमति लिएको भन्दै आफ्ना समर्थक लगाएर कान्तिपुर टेलिभिजनको बुम माईक खोस्दै दश मिनेट थुनेका थिए । उक्त घटनापछि सप्तरीमा पत्रकारिता गर्ने सहज अवस्था नभएको र पत्रकार असुरक्षितसमेत भएका कान्तिपुरकर्मी आरएन विश्वासले बताए ।
प्रेस मञ्चका महासचिव अवधेशकुमार झाले पत्रकार असुरक्षित भएको हुँदा सुरक्षाको प्रत्याभूति गराउने राज्यसँग आग्रह गरे ।
यसैबीच उक्त गाउँपालिकाका बासिन्दाहरूले पत्रकारलाई समाचार संकलनमा रोक लगाउनु र पालिका अध्यक्ष मण्डल तथा उनको निर्देशनमा पत्रकारमाथि भएको आक्रमणको विरोध गरेका छन् ।
उता नेपाल पत्रकार महासंघले घटनाको विरोध गर्दै समाचार संकलनमा रोक लगाउनु प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको छ । महासंघका महासचिव रोशन पुरीले आज बिहीबार विज्ञप्ति जारी गर्दै राजगढ गापा कार्यालयमा पत्रकारहरूलाई थुन्ने, माइक खोस्ने तथा कुटपिटको प्रयास गर्ने अध्यक्ष मण्डलसहितका ब्यक्तिहरुमाथि कारबाहीको माग गरेको छ ।
महासंघको सप्तरी शाखाले गत बुधवार नै दोषीहरूलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी बुझाइसकेका छन् ।
यस्तै नेपाल पत्रकार महासंघ सप्तरी, मधेश प्रदेश सरकार मातहतका आमसञ्चार प्राधिकरण, प्रेस मञ्च नेपाल, नेपाल प्रेस युनियन, प्रेस फ्रिडम फोरम, सप्तरी युथ सहितका संस्थाहरूले पत्रकारमाथि भएको घटनाको विरोध गर्दै कारबाहीको माग गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |