जनकपुरधाम । सिरहा धनुषा जोडने कमला पुल बनाउन माग गर्दै मधेशका मुख्यमन्त्री कार्यालय अगाडि युवाहरूले आमरण अनशन शुरु गरेको छ । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माणको माग गर्दै पुल निर्माण संघर्ष समिति संयोजक इन्जिनियर प्रवीण यादवको नेतृत्वमा युवाहरूले बुधबार देखि आमरण अनशन शुरु गरेका हुन् ।
२७ साउनमा संघर्ष समितिले दर्जनौँको सङ्ख्यामा सिरहाका सदरमुकाम सिरहाबाट मोटरसाइकल जुलुस निकाल्दै मुख्यमन्त्री कार्यालय पुगेर मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र समेत बुझाएका थिए । उनीहरूले आफ्नै लगानीमा पुल निर्माण प्रक्रिया ७ दिन भित्र सुरु नभए आमरण अनशन बस्ने चेतावनी दिएका थिए ।
१३ वर्षदेखि निर्माणाधीन कमला नदीको पुल सन्चालनको तयारीमै हुँदा बाढीले १७ असार २०७८ मा पुल भासिएको थियो । २०६८ मंसिरमा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्सट्रक्सन बीच ठेक्का सम्झौता भएको थियो । तर पटक पटक म्याद थप्दा १० वर्षसम्म पनि निर्माण सम्पन्न भएन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |