राजविराज – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका कोशी पलारबाट जङ्गली जनावरको चोरीसिकारमा संलग्न पूर्वडिआइजी सहित १० जनालाई सप्तरी प्रहरीले बुधबार राती नियन्त्रणमा लिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा प्रहरीले हतियारसहित उनीहरूलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका-२ घर भएका नेपाल प्रहरीका पूर्वडिआइजी ज्ञानविक्रम शाह र विराटनगर-३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने रहेको सप्तरी प्रहरी स्रोतले जानकारी दिएको छ ।
यस्तै हनुमाननगर कंकालिनी नगरपालिका-८ घर भएका पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, तिरहुत-२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी-२ का जर्नादन राउत, इटहरी-२ का प्रदीप लिम्बु, राजविराज-७ का रविन दासलाई, हनुमाननगर कंकालनी नगरपालिका-५ का ओमशंकर प्रसैला, वडा नं-१ का लक्ष्मण मण्डल, वडा नम्बर-३ का शंकर खिडहरी यादवलाई पक्राउ गरिएको छ ।
प्रहरीले उनीहरूको साथबाट २२ क्यालीबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउन्ड गोली, तीनवटा बाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हतौडा एक, खुर्पा एक पनि बरामद गरेको छ ।
यस्तै मारिएको बँदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्रयाक्टर र प्र. ३ –०१- ०२२ च ६८५५ नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका सप्तरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |