राजविराज । बँदेल मारेको घटनाका १० जना आरोपी मध्ये आकाश बहरखेर यादव अझै डिभिजन वन कार्यालय सप्तरीको सम्पर्कमा आएका छैन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी टप्पु क्षेत्र अन्तर्गत कोसीव्यारेज बाट बँदेल मारेको घटनामा सङ्लन रहेका १० जना सिकारी मध्ये सप्तरी प्रहरीले हाजिर जमानीमा छाडेका आकाश बहरखेर यादवलाई अहिले सम्म प्रहरीले डिभिजन वन कार्यालय सप्तरीलाई जिम्मा नलगाएको वन अनुसन्धान अधिकृत सचिन्द्र यादवले बताए ।
गत भदौ १२ गते बुधबार मध्यराति कोशी टप्पुबाट बँदेल मारेर ट्याकटरमा लोड गरी लैजाँदै गरेका १० जना शिकारीलाई प्रहरीले पक्राउ गरेका थिए । पक्राउ गरेकालाई तत्काल जमानीमा छाडे पनि हाल सम्म प्रहरीले ९ जनालाई मात्र जिम्मा लगाएको डिभिजन वन कार्यालय सप्तरीका अनुसन्धान अधिकृत यादवले बताए ।
प्रहरीले पक्राउ गरि बुझाएका शिकारी टोलीमा पूर्व डीआईजी ज्ञानविक्रम शाह र बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपाने सहितलाई डिभिजन वन कार्यालयमा १० दिनको म्याद थप गरि अनुसन्धानका लागि इलाका वन कार्यालय कंचनपुरको हिरासतमा रहेको यादवले जानकारी दिए ।
बँदेल मारेको घटनामा नगरपालिका-२ का वडा सदस्य जर्नादन राउत, वडा नम्बर -५ का ओमशंकर प्रसैला, वडा नम्बर-१ का लक्षमण मण्डल, वडा नम्बर–३ का शंकर खिडहरी यादव, तिरहुत गाउँपालिका-२ का लक्षमण मण्डल, राजविराज नगरपालिका–७ का रविन दास र इटहरी-२ का प्रदीप लिम्बुको समेत म्याद थप गरि अनुसन्धान भईरहेको अधिकृत यादवले जानकारी दिए ।
बँदेल सिकार घटनामा प्रहरीले सिकारीकोे को. २ त. ६९ नम्बरको ट्रयाक्टर र प्र. ३- ०१-०२२ च. ६८५५ नम्बरको स्कारपियो पक्राउ गरेका थिए। शिकारी टोलीको साथबाट २२ क्यालीवरको राइफल १ थान, म्यागजीन २ थान, गोली १५ राउण्ड, वाइनाकुलर ३ थान, ट्राइपोर्ट १ थान लगायतका हातहतियार बरामद भएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |