राजविराज । विद्यापति स्मृति पर्व -२०८१ को उपलक्ष्यमा मैथिली साहित्य परिषद्को आयोजना तथा मैथिली युवा परिषदको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
तीन दिवसीय कार्यक्रम अन्तर्गत आज प्रथम दिन मङ्गलबार बिहान परिषदले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प्राङ्गणको रक्तसञ्चार केन्द्रमामा आयोजना गरेको रक्तदान कार्यक्रम भव्य रूपले सम्पन्न भएको हो ।
नेपाल सरकारका पूर्वमन्त्री उमेश यादव, मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, मैथिल युवा परिषदका अध्यक्ष अखिलेश झा, सचिव सुनिल चन्दन, परिषदका सचिव संजीव नारायण यादव, उपसचिव ललिता झा, सदस्यहरू राजिव कुमार झा र रवि रायले रक्तदान गरेको परिषद्का अध्यक्ष अवधेश झाले बताए ।
त्यस्तै स्थानीय विष्णु यादव, देवेन्द्र यादव, शिवानी सुमन, संजीवकुमार यादव, पवनकुमार यादव, लाल देव चौधरी, राहुल चौधरी, पंकज सरकार, रुपेश झा, समीर मिश्र, पुज्य विसी र जितेन्द्र कुमार झासहित २१ जनाले रक्तदान गरेका छन् ।
यसैगरी आज मङ्गलबार दिउँसो मैथिली साहित्य परिषदको भवनमा मैथिल विद्यार्थी परिषद्को संयोजनमा कवि गोष्ठीको समेत आयोजना गरिएको अध्यक्ष झाले जानकारी दिए ।
त्यसैगरी तीन दिवसीय कार्यक्रम अन्तर्गत भोलि बुधबार २८ गते दिउँसो १ बजे जिल्ला समन्वय समिति सप्तरीको हलमा मैथिल पत्रकार परिषदको संयोजनमा विचार गोष्ठी हुने छ ।
अन्तिम दिन शुक्रबार २९ गते बिहान ११ बजे पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय राजविराजबाट झाँकी प्रदर्शन त्यसपछि दिउँसो २ बजेदेखि जिल्ला समन्वय समितिको हलमा श्रद्धाञ्जली सभा तथा परिषदद्वारा स्थापित विभिन्न पुरस्कार वितरण , साँझ ५ बजे सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |