राजविराज । मधेस प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले देशमा पटक पटकको राजनैतिक खिचातानीले जनताको असन्तुष्टि रहेको बताएका छन् ।
आम सञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा राजविराजमा सोमबार आयोजित साइबर सुरक्षा र ए.आई सम्बन्धी एकदिने अभिभुखिकरण कार्यक्रम उद्घाटन गर्दै उनले देशमा पटक पटक सरकार परिवर्तनले विकास सँगै शान्ति सुरक्षामा समेत समस्या रहेकाले जनता असन्तुष्ट रहेको बताएका छन् ।
मन्त्री लेखीले जनआन्दोलन, मधेश आन्दोलन लगायतको राजनीति परिवर्तनमा पत्रकारहरूको भूमिका अहम् रहेको बताए । उनले पत्रकारप्रति आमजनताको ठूलो विश्वास रहेकोले थप जिम्मेवार, मर्यादित हुँदै वर्तमान प्रविधिको उपयोग गरि समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए ।
पत्रकारको समस्या प्रति आफू अति संवेदनशील रहेकोले प्रदेशका पत्रकारहरूको लागि १ लाखको स्वास्थ्य बिमा र ७ लाखको दुर्घटना बिमा सुविधा सरकारले दिएको मन्त्री लेखी बताए ।
आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै बढ्दो आधुनिकीकरणसँगै पत्रकारिता क्षेत्रमा अलग किसिमको प्रविधि प्रयोग हुँदै आएकोले सोही अनुसारको रूपान्तरण गर्नु जरुरी रहेकोले अभिभुखिकरण कार्यक्रम आयोजना गरिएको बताए ।
अभिमुखी कार्यक्रममा मधेस प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव, मधेस प्रदेश सदस्य किरण कुमारी साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सल्लाहकार अवधेश कुमार झा लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा आम सञ्चार प्राधिकरणका प्रशासकीय प्रमुख प्रशन्नराज कर्णद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले गरेका थिए । कार्यक्रममा साइबर अपराध र ए.आई प्रविधिको महत्त्व र आवश्यकता बारे जीवन अधिकारी र प्रकाश मैनालीले सहजीकरण गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |