राजविराज । प्रभु बचत तथा ऋण सहकारी संस्था लि. राजबिराजले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ सप्तरीका अध्यक्ष भगवानी प्रसाद चौधरीले ऋणीहरुले समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाइ हुने गरेको बताएका छन् ।
उनले ऋण लगानीको रकम समयमा फिर्ता नहुँदा बचतकर्ताको रकम चुक्तामा ढिलाई हुने गरेको कारण सहकारी प्रति जनमानसमा एक किसिमको नाकारात्मक धारणा फैलिएको बताए ।
‘ऋण नदिए सहकारीमा तरलता आउँछ तर, ऋण लगानी गर्दा जोखिम छ’ यो सत्य पनि सबैलाई बुझ्न आग्रह गरे । आम सर्वसाधारणमा सहकारी प्रति फैलिएको नकारात्मक धारणालाई चिर्न सहकारी संस्थाहरू पारदर्शी हुनु आवश्यक रहेको प्रमुख अतिथि चौधरीले बताए ।
वार्षिक साधारणसभाको सफलताको शुभकामना दिदैँ केही सहकारीले गडबड गर्दैमा सबै सहकारी प्रति त्यस्तै हुन्छ भन्ने किसिमको धारणा नबनाउन उनले सबै संग आग्रह गरे । ‘सहकारी एउटा सामाजिक संस्था हो । यो कुनै बैंक वा लघुवित्त संस्था होईन’ उनले भने ।
संस्थाका अध्यक्ष सर्फराज अंसारीको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेड राजविराज शाखाका प्रमुख वीरबल राजवंशी लगायतकाले आम जनमानसमा सहकारी प्रति रहेको नकारात्मक धारणा लाई चिर्न समुदायमा आधारित कामहरु गर्न सुझाव दिदै साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।
यसैबीच संस्थाले वार्षिक साधारणसभाको अवसरमा वरिष्ठ संचालक लक्ष्मण यादव, संस्थाका कर्मचारी मनु कुमार चौधरीलाई सम्मान समेत गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |