राजबिराज । सप्तरीको राजबिराज नगरपालिकामा ३ हजार ६ सय जना बालिकाहरूलाई ह्युमन प्यापिलोमा भाइरस (एचपिभि) खोप लगाउने बताईएको छ । आइतबार राजबिराज नगरपालिका स्वास्थ शाखा द्वारा आयोजित एक दिने अभिभुखिकरण कार्यक्रमका सो कुरा जानकारी गराइएको हो ।
कार्यक्रममा कावा नगरप्रमुख ईसरत परविनले खोपबाट नगरको कोही पनि बालिकाहरू नछुट्ने गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य चौकी मातहतका सम्पूर्ण स्वयंसेविका र कर्मचारीहरूलाई निर्देशन दिएका छिन । प्रमुख परविनले प्रत्येक वडाका अध्यक्षहरूले आफ्नो बस्ती, टोलका कुनै पनि बालिकाहरू नछुट्ने गरी प्रचारप्रसार गर्न आग्रह गरेकी छिन ।
राष्ट्रिय खोप कार्यक्रम २०८१ को परिपत्र अनुसार १० बर्ष देखि १४ वर्षसम्मका बालिकालाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्नको लागी एचपिभि खोप अभियान संचालन गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा फागुन १ गते देखि ६ गते सम्म खोप अभियान संचालन हुने राजबिराज नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा संयोजक निरन्जन यादबले बताएका छन् ।
स्वास्थ्य शाखाका अनुसार कक्षा छ देखि कक्षा दशसम्मको छात्राहरूलाई तथा विद्यालय बाहिरका दश बर्ष देखि चौध बर्ष सम्मका किशोरीहरूलाई पनि यो खोप लगाउने छ । खोप अभियानमा १ सय ३ जना स्वमसेविका तथा ४४ जना स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य शाखा सहसंयोजक हरिबंश यादबले जानकारी दिए । अभियान अन्तर्गत ३ हजार ६ सय बालिकाहरूलाई यो खोप लगाउने लक्ष्य रहेको नगरपालिकाका सहसंयोजक यादबले बताए ।
खोप समन्वय समितिका संयोजक एवम् राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत परविनको अध्यक्षता आइतबार अभिमुखीकरणमा राजबिराज नगरपालिका १६ वटै वडाका वडा अध्यक्ष सहित कार्यपालिका सदस्य तथा विभिन्न शाखाका प्रमुखहरु, विभिन्न स्वास्थ्य संस्थाका इन्चार्जहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन स्वास्थ्य शाखा सहसंयोजक हरिबंश यादबले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |