सप्तरी । राजविराज – कञ्चनरुप हुलाकी सडकखण्ड अन्तर्गत राजविराज नगरपालिका- १ पडरियामा सोमबार राती विङ्गर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका- १ रायपुरका अन्दाजी बर्ष ३५ को रघु यादवको मृत्यु भएको हो ।
जन्ती पुर्याएर तिरहुतको डिमन-बनौलीबाट राजविराज फर्किने क्रममा को. १ ज. २८६४ नम्बरको वीङ्गर अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा गम्भीर घाईते वीङ्गर चालक यादवको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
दुर्घटनामा सहचालक शम्भुनाथ नगरपालिका- १ खोकसरका अन्दाजी बर्ष २५ को देवसुन्दर साह समेत सामान्य घाइते भएका छन् । उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए ।
मृतक वीङ्गर चालकको शव परिक्षण गरि परिवारको जिम्मा लगाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |