राजविराज । ठगी विश्वासघात तथा सङ्गठित अपराध आरोपमा पक्राउ परेका पत्रकार वैद्यनाथ यादव बुधबार रिहा भएका छन् । सप्तरी जिल्ला अदालत राजविराजको आदेशमा २५ हजार धरौटी बुझाएर पत्रकार यादव रिहा भएका हुन् ।
प्रहरीले यादवमाथि ठगी विश्वासघात तथा सङ्गठित अपराध, प्रहरी प्रतिवेदन सङ्गठित अपराध गरि विभिन्न चारवटा मुद्दा दर्ता गरि ५० दिन हिरासतमा राखी अनुसन्धान गरेका थिए । प्रहरीले पत्रकार यादवसहित सोही मुद्दाका अन्य आरोपीहरूलाई बुधबार अदालत पेश गरेका थिए ।
सप्तरी जिल्ला अदालतको फैसला अनुसार ठगी विश्वासघात तथा सङ्गठित अपराध मुद्दामा २५ हजार धरौटी बुझाएर तथा बाँकी मुद्दाहरूमा साधारण तारेखमा रिहा भएको पत्रकार यादवले बताए ।
उनले राज्यले आतंक मच्चाए पनि अदालतबाट न्याय पाउँदा देशमा न्यायालय छ भन्ने आभास भएको प्रतिक्रिया दिए । उनले भाईसंग टेलिफोनमा भएको कुराकानी र छरछिमेकीसँग कुराकानी गरेको आधारमा ५० दिनसम्म विना साबुत प्रमाण प्रहरीले हिरासतमा राखी आफूमाथि ठुलो अन्याय गरेको टिप्पणी गरे ।
पत्रकार यादवसँगै मुख्य आरोपी रामबहादुर रजक (हनुमानी), समिना खातुन र रुपेश यादव समेतलाई धरौटीमा रिहाई गर्न अदालतबाट आदेश भएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए ।
एसपी खतिवडाका अनुसार हनुमानीलाई ११ लाख, रुपेशलाई २ लाख १९ हजार, खातुनलाई ३० हजार र पत्रकार यादवलाई २५ हजार धरौटी लिएर रिहा गर्न अदालतले आदेश गरेको छ ।
राम बहादुर रजक (हनुमानी) तत्काल धरौटी बुझाउन नसक्दा कारागार चलान भएको तथा अन्य ३ जनाले धरौटी बुझाएर बुधबारै रिहा भएको एसपी खतिवडाले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |