राजविराज । राजविराज स्थित पूर्वाधार विकास कार्यालय सप्तरीका प्रमुख प्रविन प्रताप अधिकारीले मधेश प्रदेशका पूर्व मन्त्री महेश यादव आफू माथि हातपात गरेको आरोप लगाएका छन् ।
योजनाको चिट्ठी आफूले पठाएको व्यक्तिलाई किन नदिएको भन्दै पूर्व मन्त्री यादवले एक्कासि मेरो कार्य कक्षमा प्रवेश गरी हातपात गरेको अधिकारीले बताए ।
‘प्रदेश सरकारको रेडबुकमा रहेको राजविराज नगरपालिका-१३ पिपराहीमा सामुदायिक भवन निर्माण र सोही वडाको बिषहरीयामा एकनाथको घरदेखि महाबिर स्कूलसम्म आरसीसी ढलानको योजनाको चिट्ठी लिन राजविराज नगरपालिका वडा नं. १३ का वडा सदस्य चन्द्रिका यादव आउनुभएका थिए,’ उनले भने, ‘मैले दुवै योजना सञ्चालनका लागि कोटेसनको सुचना निकालिसकेको जवाफ उहाँलाई दिएका थिए ।’ केही बेरमै मन्त्री ज्यू आउनुभो, मैले नमस्ते भने उहाँले हातपात गर्न थाल्नुभो ।’
यता मन्त्री यादवले हातपातको कुरा अस्वीकार गरेका छन् । उनले प्रदेश सरकारको योजनाको चिट्ठी दलाल मार्फत बिक्री वितरण गर्न थालेपछि आफू आवेशमा आएको बताए । उनले हातपात नगरेको, हल्का ठेलेको मात्रै बताए ।
पूर्व मन्त्री यादवले कार्यालय प्रमुख अधिकारीलाई हातपात गरिरहँदा सो कार्यालयमा जनमत पार्टीबाट निर्वाचित प्रदेश सभासदद्वय सकिल अली, शम्भु साह तथा जनमत पार्टीकै तर्फबाट निर्वाचित हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझी समेत सोही कार्यालयमा उपस्थिति थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |