राजविराज । चिम्टी आगलागीबाट सर्वश्व गुमाएका अग्निपीडितको लागि जलेको घरको सरसफाइ गर्न सुरक्षा निकाय जुटेका छ भने बस्तीमा खानेपानी सरसफाइ तथा शौचालय निर्माण काम गर्ने भएको छ ।
यता शनिवार बिहानै नेपाली सेना, बरख गण राजबिराज, नेपाल प्रहरी, सशस्त्र प्रहरीले अग्निपीडितहरूका जलेका घरहरू सरसफाइ र बचेका समानहरूलाई टहराहरूमा सुरक्षित रूपमा पुर्याउने काम गरेको छ ।
खानेपानी र शौचालयको समस्या भोग्दै अवस्थामा स्थानीय विपद व्यवस्थापन समिति तथा महादेवा गाउपालिका अध्यक्ष सुनिल मण्डलको अध्यक्षतामा शनिवार चिम्टीमा बसेको बैठकको निर्णयले सबल नेपाल र छाया नेपाललाई खानेपानी र सरसफाइ क्षेत्रको काम गर्नका लागि निर्णय गरेको छ ।
बैठकले बस्ती पुननिर्माण तथा पुन स्थापनाका लागि प्रदेश तथा संघीय सरकार संघ आवश्यक समन्वय र सहकार्य गर्न, आवास निर्माण गर्न, विभिन्न विकास साझेदार सङ्घसंस्थालाई अनुरोध गर्न, विपद व्यवस्थापनका लागी रहेका विभिन्न कलष्टरहरूलाई क्रियाशील बनाउने समेत निर्णय गरेको छ ।
महदेवा गाउँपालिका वडा नम्बर १ मा रहेका चिम्टी टोलमा भएको आगलागीबाट ६५ परिवारको ११४ घर जलेर सखाप भएको पीडामा झन आवश्यक खानेपानी सरसफाइ र शौचालय अभावले पीडा हुने गरेको पीडित रती लाल सदाले गुनासो गरे । उनका अनुसार सप्तरी युथ सहितका केही संघ संस्थाको सहयोगमा छाक टार्नै ब्यवस्था भएको बताए । अहिले पनि सुत्ने ठाउँ सरसफाइ नभएकोले सर्प टोक्ने डर भएको पीडित सहदेव सदाले गुनासो गरे ।
चिम्टीमा भएको आगलागीबाट यादव र सदा वस्ती सखाप भएका मध्ये अति नै गरिब रहेका मुसहर वस्तीमा त्रिपाल दिए पनि खानेपानी र शौचालय नहुदाँ महिला बालबालिकालाई समस्या हुने गरेको पीडित दिपु सदाले गुनासो गरे ।अति नै गर्मी समय रहेकाले छिन छिन मै पानी खानु पर्नै भएकोले त्यस तर्फ कसेले ध्यान नदिएको उनले गुनासो पोखे ।त्रिपाल दिए पनि सरसफाइको अभावले खेत वारीमा राख्न वाध्य भएको सदाले बताए ।
स्थानीय विपत व्यवस्थापन समितिको बैठकले राहत सहित का अन्य सहयोग गर्ने निकायले एक द्वार प्रणालीबाट बितरण गर्नुपर्नेमा निर्णय गरेको छ । शनिवार घटना स्थलमै महादेवा गाउँपालिकाको अध्यक्ष सुनिल मण्डलको अध्यक्षता बसेको बैठकमा सो निर्णय गरिएको हो ।
बैठकले अग्नि पीडित खानेपानी र सरसफाइको समस्या देखिएकोले सबल नेपाललाई सरसफाइ र अस्थायी शौचालय निर्माण गर्नका लागि आग्रह गरेको छ ।
यता शनिवार नै ४६ जना अग्नि पीडितहरूको लागि युनिसेफ, सबल नेपालले हाईजिंग कीट, त्रिपाल, लगायतका सामग्री बितरण गरेको सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले जानकारी दिए । अस्थायी शौचालय निर्माणका लागि सबल नेपालले जग्गा छनोट गर्ने काम सुरू गरिसकेको सबल नेपालका वास संयोजक परमेश्वर झाले जानकारी दिए ।
त्यस्तै बालकालिका तथा महिलाहरू बस्नका लागि बालमैत्री स्पेस निर्माण गर्ने काम (आरएसके) अगाडि बढाउने झाले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |