राजबिराज । तिरहुट टाइगर्स सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनल पुगेको छ ।
शनिवार सम्पन्न रोमान्चक पहिलो क्वालीफायरमा छिन्नमस्ता लायन्सलाई ४ रनले पराजित गर्दै तिरहुट टाइगर्सले फाइनलमा स्थान पक्का गर्यो ।
पराजित छिन्नमस्ताले अब फाइनल प्रवेशको लागि दोश्रो मौका पाउनेछ। आइतबार दोश्रो क्वालीफायरमा छिन्नमस्ता र कन्चनरुप राइनोज बीच प्रतिस्पर्धा हुनेछ ।
आज सम्पन्न इलिमीनेटरमा कन्चनरुपले सनराइज तिलाठी कोइलाडीलाई पराजित गरेको हो। पराजित हुँदै तिलाठी कोइलाडी प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो क्वालीफायर अन्तर्गत पब्लिक विन्देश्वरी मैदानमा तिरहुट टाइगर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको छिन्नमस्ताले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनायो ।
सुमित नेवारले अविजित ७२ रन बनाएता पनि जितको लागि पर्याप्त हुन सकेन। सुमितले ३७ बलमा ४ चौका र ६ छक्का मद्दतले अविजित ७२ रन बनाए । मयन यादवले ३६ तथा विकास दासले २३ रनको योगदान दिए।
बलिंगतर्फ तिरहुटका अनिल यादवले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए। रुपेश सिंहले २ तथा दिपेश कंडेलले १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको तिरहुट टाइगर्सले २० ओभरमा १६७ रनमा सबै विकेट गुमायो ।
तिरहुटको लागि खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका बसिर अहमदले सर्वाधिक ७४ रन योगदान दिए जुन क्रममा उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। यस्तै अमित यादवले ४२ रन बनाए जुन क्रममा ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
बलिंगतर्फ छिन्नमस्ता लायन्सका फिर्दोश अन्सारीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा ३१ रन खर्चिए ।
मोहम्मद सोहेल र भिम शार्कीले समान २ विकेट तथा बिशाल पटेलले १ विकेट लिए ।
आज सम्पन्न इलिमेनेटरमा सनराइज एघार तिलाठी कोइलाडीले दिएको १२५ रनको लक्ष्य कन्चनरुप राइनोजले १५.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । कन्चनरुपको लागि ओपनर सुभ कंसकारले सर्वाधिक ७१ रन बनाए ।
प्लेयर अफ द म्याच घोषित उनले ४० बलमा ५ चौका र ७ छक्का प्रहार गरे । अरनिको यादवले २६ तथा राशिद खानले अविजित १० रन बनाए ।
बलिंगतर्फ तिलाठी कोइलाडीका दिपेश सरदारले ३, नारायण जोशीले २ तथा तृत राजदास र बिशाल सुश्लिंगले १/१ विकेट लिए । यस अघि टस हारेर ब्याटिंग गरेको सनराइज एघार तिलाठी कोइलाडीले १५.२ ओभरमा सबै विकेट गुमाएर १२४ रन बनाएको थियो ।
तिलाठी कोइलाडीको लागि तृत राज दासले सर्वाधिक ५१ रनको योगदान दिए जुन क्रममा उनले २८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। अभिषेक तिवारीले ३० तथा बिशाल सुश्लिंगले १२ रन बनाए ।
बिनोद भण्डारीले ६ रन मात्र बनाउन सके। बलिंगतर्फ कन्चनरुप राइनोजका दिनेश अधिकारीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३.२ ओभरमा १५ रन खर्चिए ।
राहुल मण्डलले २ विकेट लिंदा चित्र बहादुर बिस्ट, उमेश चौधरी र अरनिको यादवले १/१ विकेट लिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |