राजविराज । सप्तरीको राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले पत्रकारमाथि दुर्व्यवहार गरेको छ । अध्यक्ष मण्डलले मंगलबार रिपोर्टिङमा गएका पत्रकारलाई थुन्नुका साथै माइक खोस्दै दुर्व्यवहार गरेको हो ।
गैरकानुनी रूपमा गाउँसभा गरेको भन्दै केही जनप्रतिनिधि र स्थानीयले मंगलबार गाउँपालिका अध्यक्ष मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार सङ्कलनमा गएका पत्रकारमाथि अध्यक्ष मण्डलले अभद्र व्यवहार गरेका हुन् ।
रिपोर्टिङ गरिरहेका बेला कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता आरएन विश्वासको माइक अध्यक्ष मण्डलले खोसेको थियो । विश्वाससँगै पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष नवीन गुप्ता र महासंघका कार्यसमिति सदस्य एवम् नेपाल समाचारपत्रका सप्तरी संवाददाता विद्यानन्द रामलाई गाउँपालिका अध्यक्ष मण्डलले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुन्नुको साथै दुर्व्यवहार गरेको पीडित पत्रकारहरुले बताए ।
राजगढ गाउँपालिकाका अध्यक्ष मण्डलले विधि, पद्धति र ऎन विपरीत १३ औं गाउँसभा गरेको भन्दै ३३ गाउँसभा सदस्य मध्य उपाध्यक्षसहित १७ जना गाउँसभा सदस्य गाउँसभाको विपक्षमा छन् । पुन:गाउँसभा गर्नुपर्ने लगायतका विभिन्न ४ सूत्रीय माग राखी बहुमत गाउँसभा सदस्यसहित सयौँ स्थानीयले प्रमुख जिल्ला अधिकारी मेघ बहादुर मंग्रातीलाई आइतबार ज्ञापनपत्र समेत बुझाएका छन् ।
सोही ज्ञापनपत्रको बोधार्थ अध्यक्ष मण्डल र उपाध्यक्ष रेणु कुमारी मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार सङ्कलनका लागि पुगेका पत्रकारलाई अध्यक्ष मण्डलले अभद्र व्यवहार गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |