राजविराज । आफ्नो साईडबाट जाँदै गरेको एक जना मोटरसाईकल चालकलाई पछाडीबाट बसले ठक्कर दिंदा मृत्यु भएको विषयलाई लिएर आज शुक्रवार सप्तरीको हनुमाननगर बजार दिनभरि तनाबग्रस्त रह्यो ।
राजविराज भारदह सडक खण्ड अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका ५ योगिनियाँमा हिजो बिहीवार साँझ को ३० प ८१०९ नम्बरको मोटरसाईकललाई को १ ख ४०४६ नम्बरको बसले पछाडीबाट ठक्कर दिंदा वडा नम्बर ७ का २२ वर्षिय ध्रुप मण्डल गम्भिर घाईते भएका थिए ।
उपचारकालागि उनलाई प्रहरीले सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । तर बस चालकले सुझबुझका साथ किचेर मण्डलको हत्या गरेको र प्रहरीले घटनास्थलमै मृत्यु भएका मान्छेलाई उपचारकालागि अस्पताल लगेर घटनालाई सामसुम पार्न खोजेको भन्दै आज बिहानैदेखि स्थानीयले बजार यातायात बन्द गराउँदै सप्तरी प्रहरीविरुद्ध प्रदर्शन थालेको हो ।
उक्त क्रममा स्थानीयहरुले हनुमाननगर बजारमा रहेको ट्राफिक प्रहरीको अस्थायी बिटसमेत तोडफोड गरेको छ भने इलाका प्रहरी कार्यालय हनुमाननगर समेत घेराउ गरेको थियो । उक्त क्रममा पटक पटक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी हुँदा स्थिती तनाबग्रस्त बनेको थियो भने बजार ब्यापार सबै ठप्प रह्यो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डिराज नैउपानैले ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको र कानून बमोजिम कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनुको साथै प्रदर्शनलाई सहमती टुंग्याउन पीडित परिवार र प्रदर्शनकारीहरुसँग समन्वय भईरहेको जानकारी दिएका छन् ।
यसैबीच सोही प्रदर्शनको क्रममा उपचारकालागि गर्भवती महिलालाई लिएर को १ च १८१४ नम्बरको एम्बुलेन्समा जाँदै गरेको अवस्थामा प्रदर्शनकारीले हनुमाननगरमा एम्बुलेन्स चालक महिनारायण यादवलाई कुटपिट गरेको भन्दै सुरक्षा माग्दै एम्बुलेन्स चालकहरुले आज शुक्रवार साँझ राजविराजमा चक्काजाम गर्दै दुई घण्टा सेवा अवरुद्ध गरेका छन् । सप्तरी प्रहरीले कुटपिट गर्नेलाई कारबाही र सुरक्षाको प्रबन्ध गर्ने सहमतीमा एम्बुलेन्स चालकहरुको हडताल फिर्ता भएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |