राजबिराज । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व मिथिला क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै सोमबार देखि विधिवत् रूपमा सुरु भएको हो ।
सो अवसरमा राजबिराज स्थित असिया पार्टी प्यालेसले व्रतालुहरूको लागी झलही पोखरीमा नुहाउन र पूजापाठ गर्न व्यवस्था मिलाएको छ ।
पोखरीको चार वटै डिलमा महिलाहरूको लागि सुरक्षित रूपमा नुहाउन कपडाले घेरबेर सँगै महिलाहरूको लागी ड्रेसिङ रूम समेत व्यवस्थापन गरेको आशिया पार्टी प्यालेसका संचालक मो. अकबर हुसेनले बताए ।
उनले भने एक आपसमा भाइचारा, सदभाव, कायमको लागि महिला दिदी बहिनीहरूको जितिया पर्वलाई भव्य रूपमा सफल बनाउन झलही पोखरीको सरसफाइ सँगै पोखरी भित्र रहेको अनावश्यक फोहोर हटाउन चुना प्रयोग गरी सरसफाइ कार्य गरेको संचालक हुसेन बताए ।
असिया पार्टी प्यालेसले जितिया र छठ पर्वको अवसरमा प्रत्येक वर्ष झलही पोखरीको सरसफाइ तथा घेरबेर गर्दै आएको छ । यता महिलाले सोमबार पोखरी, तलाउ, जलाशयमा नुवाइधुवाई गरी औपचारिक रूपमा व्रतको सुरुवात गरेका छन् । मधेशका विशेषगरी थारू र मैथिली समुदायले विशेष महत्त्वका साथ यो पर्व मनाउने गर्छन् ।
थारू जातिका आमाहरूले आआफ्ना सन्तानको दीर्घायु एवं मङ्गलमय कामनाका लागि मनाउने गर्छन् । मङ्गलबार बिहान ओठगन अर्थात् दही, च्यूरा, चिनी, केरा, मिठाई इत्यादि जिमुतवाहनलाई चढाएर प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ। यस वर्ष मङ्गलवार दिनभरि र बुधबार ५ बजेसम्म उपवास बस्नुपर्ने समय निर्धारण गरिएको छ ।
यो पर्वमा लामो उपवास बस्नुपर्ने भएकाले व्रत सुरु हुनुभन्दा केही समयअघि इच्छाअनुसार खानाको विभिन्न परिकार बनाएर खाने गरिन्छ । पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने कठोर विधान रहेको बताइन्छ । विशेष श्रद्धाभक्ति तथा निष्ठापूर्वक मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु महिलाहरूले पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गर्नुका साथै घेराको पातमा खली र तेल चढाउने गरिन्छ ।
सोही दिन राति १२ बजेको समयपछि बिहानको समयमा व्रतालु महिलाहरूले आँगनमा घेराको पातमा दही, चिउरा, चिनी, केरा आदि फलफूलसमेतको प्रसाद ‘जिमुतवाहन’लाई चढाउने गर्छन् । प्रसाद ग्रहण गरेपछि परिवारका बालबालिकाका साथै सम्पूर्ण सदस्यहरू दही च्युरा, मिठाई, फलफूललगायतका भोजन गर्ने गर्छन् ।
मध्यरातपछिको समयमा ग्रहण गरिने खानेकुरालाई ‘ओटघन’ भनिन्छ। लामो निराहारपछि व्रतको तेस्रो दिन अर्थात् नवमीका दिन बिहान पोखरी तलाउमा गई दही, केरा आदिको प्रसाद चढाएर विधिवत् रूपमा पर्वको बिदाइ गरिन्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |