राजविराज । सप्तरीको राजविराजस्थित रंगशाला मैदानमा राजविराज महोत्सव –२०८१ बिहिबार देखि सुरू हुँदै छ । आयोजक ड्रिम नेपाल युवा संघद्वारा बुधबार पत्रकार सम्मेलन आयोजना गरि मेला सम्बन्धि जानकारी सार्वजनिक गरिएको हो ।
राजविराज नगरपालिकाको सहकार्य तथा ग्रिन नेपालको आयोजनामा हुन लागेको उक्त मेला कात्तिक २५ गतेसम्म चल्ने मेला मुल समारोह समितिको संयोजक चितरञ्जन यादवले जानकारी दिए ।
मेलमा ४० वटा स्टल, मिथिला पेन्टिङस, कृषि उपकरण, कृषि सामाग्री रहने ड्रिम नेपालका सचिव मुस्तकिम आलमले बताए । उनले स्थानीय उत्पादनको लागि १० वटा स्टल निःशुल्क व्यवस्था गरिएको जानकारी दिए ।
मेलामा विभिन्न किसिमको स्थानीय संस्कृति दर्सिने कार्यक्रमहरू आयोजन गरिने आयोजक संस्थाका अध्यक्ष कमलकिशोर साहले जानकारी दिए ।
मेलामा प्रवेश शुल्क पचास रुपैयाँ लाग्ने तर पाँच वर्षसम्मको बालबालिका, जेष्ठ नागरिकको लागि प्रवेश निःशुल्क गरिएको उनले बताए । स्थानीय खेलाडीलाई पचास प्रतिशत र विद्यार्थीलाई तीस प्रतिशत छुटको व्यवस्था रहेको अध्यक्ष साहले बताए ।
मेला व्यवस्थापनको लागि साठी जना स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ । मेलाको निगरानीको लागि फिल्डमा पन्ध्र वटा सिसिटिभी जडान गरिएको मेलाका संयोजक यादवले जानकारी दिए । मेलामा साठी लाख रुपैयाँ खर्चको अनुमान गरिएको आयोजकको भनाई छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |