राजविराज । गैरकानूनीरूपमा राजविराज नगरपालिकाको कार्यालयले अदालतको आदेश विपरित आफूहरुको घर–सम्पत्तीमा क्षति पु-याउँदै ज्यानसमेत मार्ने गरी क्रियाकलाप गरेको भन्दै पीडितहरू न्यायकालागि अदालत जाने भएको छ ।
राजविराज नगरपालिकाले गत बिहीवार वडा नम्बर ३ स्थितको बाटो फराकिलो गराउने नाममा उच्च अदालत जनकपुरको राजविराज इजलासको आदेश विपरित जबर्जस्ती स्थानीयवासीहरूको घरपर्खाल भत्काउनुको साथै उक्त क्रममा जेसिबीबाट एक जना महिला घाइतेसमेत भएकी थिइन् ।
सोही घटना सम्बन्धमा शनिवार स्थानीय पीडितहरूले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गरी न्यायकालागि पुनः अदालत जाने बताएका हुन् । पत्रकार सम्मेलनमा पीडितमध्येका कलिम खानले अनुमति पत्र समेत नभएका नगरपालिकाका चालक विजय देवले चलाइरहेको जेसीबीको बौकेटले श्रीमती जकिया खानको अनुहार–टाउकोमा चोट लागेर घाईते भएको जानकारी दिए । जकियाको उपचार भइरहेको छ ।
‘
अदालतले दुई पक्षको छलफलबिना तत्कालै कुनै किसिमको भौतिक संरचनामा क्षति नपुर्याउने आशयको आदेश गर्यो’, स्थानीय कलिम खानले भने, ‘तर पनि नगरपालिकाकी काबा मेयर इसरत परविनले अदालतको आदेश च्यात्दै जबर्जस्ती आफ्नो पर्खाल जेसिबी लगाएर भत्काउने थालेँ, उक्त क्रममा श्रीमती गम्भिर घाईते भईन्, अब अदालतको अवहेलनासहित न्यायकालागि नगरपालिकासँग कानूनी लडाइँ लड्छु ।’
नगरपालिकाका जनप्रतिनिधिहरूले कानून भन्दा पनि आफ्ना अनुकुलका ब्यक्तिहरूको घर जोगाउँदै बाटो फराकिलोको नाममा आफूहरूलाई दुःख दिएको खानको भनाई छ । ‘हुनत् मेरो घर अगाडिको बाटोको चौडाइ ८ मिटर छ, जबकी नगरपालिकाले सडकको केन्द्रबाट दाँया–बाँया गरी साढे ३ मिटर मात्रै लिइरहेको भनी सूचना छ’, उनले भने, ‘एक मिटर बढी सडक हुँदा पनि मेरो पर्खाल भत्काउन थाल्यो, यो सरासर पूर्वाग्रही देखियो ।’
अदालतले यसै विषयमा नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई आउँदो माघ २१ गते छलफलका लागि बोलाएको थियो । स्थानीयहरुले सिङ्गो सडक फराकिलो गर्दा एकनास हुनुपर्ने बताउँदै त्यसकालागि आफूहरू तयार रहेपनि जनप्रतिनिधिहरू पूर्वाग्राही ढंगले अगाडि बढिरहेको आरोप लगाइरहेका छन् ।
पत्रकार सम्मेलनमा अर्का पीडित दिपेशकुमार साहले आफ्नो घरको नक्सासमेत नगरपालिका आफैँले पास गरेर अहिले सडक फराकिलोको नाममा घर भत्काउनुपर्दा आर्थिक र मानसिक पीडा भएको बताए । ‘नगरपालिकाबाट खटिएका अमिनले पहिलो दिन र अर्को दिनमा फरक–फरक ठाउँमा चिन्ह लगाएर घर भत्काउन भन्नु कहाँको न्यायोचित हो रु’, उनले भने, ‘बदनियतपूर्वक आफ्नो घर भत्काउन नगरपालिकाबाट दवाब आईरहेको छ, एक पटक नगरपालिकाले नक्सा पास गरिदिने, अर्को पटक फलानो ठाउँसम्म भत्काउनु भन्नु, त्यहाँसम्म भत्काएपछि फेरी अरु भत्काउनुपर्छ भनेर निर्देशन दिने कहाँको न्याय हो र ।’
पीडितहरूले विकासको बाधक आफूहरू नभएको भन्दै यसअघि पनि सडक फराकिलो गर्दा आफूहरुले जग्गा सडकमा दिएको बताए । उनीहरुले नगरपालिका र जनप्रतिनिधि सबैको हुने गरी काम गर्नुपर्ने बताएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |