राजविराज । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । बरामद गरिएको गाँजा तौल गर्दा प्रारम्भिक रूपमा २४ क्वीन्टल ५१ किलो ५ सय ग्राम रहेको पाइएको छ ।
प्याकिङका लागि प्रयोग गरिएको प्लास्टिक हटाएपछि गाँजाको वास्तविक तौल २४ क्वीन्टल १९ किलो ५ सय ग्राम रहेको शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख (एसपी) ढकेन्द्र खतिवडाले जानकारी दिए ।
फागुन १९ गते बिहान १० बजे राजविराज नगरपालिका-९ मलेठस्थित राजनारायण शाहको जग्गामा रहेको गोदाम घरमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा प्रहरीले छापा मारेको थियो ।
फागुन २१ गते अपराह्न ४ बजे सोही गोदामको अगाडि बाट भारत, बिहार राज्यको मधुबनी जिल्ला ग्राम पञ्चायत कुकुरदौरा वडा नम्बर १०, छतापुर बस्ने ६६ वर्षीय रामनारायण यादवलाई पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार, पक्राउ परेका यादव लागूऔषध तस्करीमा संलग्न गिरोहसँग जोडिएको हुन सक्ने आशङ्का गरिएको छ । उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी गराए । घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |