राजविराज । मधेश प्रिमियर लिग प्रालिको आयोजना तथा मधेश प्रदेश सरकारको सहयोगमा म्याक्स टाइगर मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करण सप्तरीको राजबिराजमा सुरु हुदैछ ।
राजविराजको पविमावि क्रिकेट मैदानमा भोलि मङ्गलबार एमपिएलको उद्घाटन खेल छिन्नमस्ता रुपनी मधेश राइडर्स र कोशी दुहबी क्यापिटलबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता अघि सोमबार पविमावी क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा मधेश प्रिमियर लिगका अध्यक्ष इन्जिनियर संजीनारायण यादवले एमपीएलको सबै तयारी पूरा भएको जानकारी दिए । प्रतियोगिताको मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बिहान ११ बजे राजविराजस्थित पविमावि खेल मैदानमा उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
एमपीएलमा ६ फ्रेञ्चाइज टिम, जनकपुर सनराइजर्स, छिन्नमस्ता रुपनी मधेश राइडर्स, कोशी दुहबी क्यापिटल, काठमाडौँ रोयल्सल, सप्तरी बलान विहुल बि सुपर किङ्ग्स्, मिथिला वारिर्यसले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उपाधि जित्ने टिमलाई रु ९ लाख १ हजार र उप विजेतालाई रु ४ लाखसहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ । १० गते सेमिफाइनलका दुबै खेल र ११ गते फाइनल हुने प्रतियोगिताका डाइरेक्टर पवन दासले जानकारी दिए ।
प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमका खेलाडी दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलसन झा, बसिर अहमद, नन्दन यादव, विवेक यादव, आरिफ शेख, ललित राजबन्सी सहितका खेलाडी विभिन्न टिममा आबद्ध छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |