राजविराज । राजविराज नगरवासी पीडित संघर्ष समितिले आठ बुँदे माग अघि सार्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । मङ्गलबार गजेन्द्र चोकमा पत्रकार सम्मेलन गर्दै दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
प्रथम चरणको आन्दोलन पश्चात त्यसको भोलि पल्ट माग सम्बोधनका लागि समिति बनाउने प्रतिबद्धता उनीहरुबाट आएपछि हामीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए । तर, अहिलेसम्म कुनै पहल नभएको कारणले फेरी आन्दोलनमा होम्नु बाध्य भएको वार्ता समितिका संयोजक इरसाद अन्सारीले बताए ।
उनकाअनुसार, बैशाख १८ गते बिहीबार राजविराज नगरपालिका भित्रका घर-घर र पसल पसलमा कालो झण्डा झुण्डयाउने, १६ गते शुक्रवार देखि स्थानीय गजेन्द्र चौकमा मागका पक्षमा हस्ताक्षर सङ्कलन अभियान चलाउने, २१ गते आइतबार बिहान १० बजे नापी कार्यालय राजविराजमा १ घण्टा धर्ना दिने र २२ गते सोमवार बिहान १० बजे राजविराज नगरपालिका कार्यालयमा १ घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको संघष समितिका संयोजक अन्सारीले जानकारी दिए ।
समितिले राजविराज नगरपालिकाको बिटौरी र ब्लक जग्गाको लालपुर्जाबाट बञ्चित रहेका ५ हजार भन्दा बढी परिवारलाई अविलम्ब लाल पुर्जा प्रदान गर्नुपर्ने, राजविराज बसपार्क अविलम्ब संचालन गर्नुपर्ने, राजविराज हटियामा निर्माणाधीन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्ब सकाएर व्यापारीलाई हस्तान्तरण गर्नुपर्ने माग अघि सारेका छन् ।
यस्तै, खाडो नदी तटबन्ध क्षेत्रका जग्गाहरूको नापी अविलम्ब गर्नुपर्ने, राजविराज-कंचनपुर सड्क खण्डको निर्माण कार्यमा देखिएका समस्या अविलम्ब समाधान गर्नुपर्ने, सीमानाकामा विषादी परीक्षणका लागि क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, लामखुट्टे नियन्त्रणका लागी नगर क्षेत्रमा अविलम्ब औषधी छर्कने व्यवस्था गर्नुपर्ने, सप्तरीको सिमानाका क्षेत्रमा वर्षौं देखि बन्द रहेका छोटी भन्सार कार्यालयहरू अविलम्ब संचालन गर्नुपर्ने माग समेत उनीहरूले गरेका छन् ।
घोषण गरिएको आन्दोलनबाट समेत माग पुरा नभए बैशाख २४ गते समीक्षा गरि तेस्रो चरणको आन्दोलन घोषणा गरिने पत्रकार सम्मेलनमा पीडित संघर्ष समितिले बताएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |