भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा इङ्ल्यान्डले ४५.५ ओभरमा २५९ रन मात्रै बनाउन सकेको थियो । भारतीय टोलीले ४२.१ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । यो जितसँगै रोहित शर्माको कप्तानीमा रहेको टोलीले एकदिवसीय सिरिज २–१ ले जितेको छ । यसअघि उनले टी–२० सिरिज पनि २–१ ले जितेका थिए ।
विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले आफ्नो एकदिवसीय करियरकै उत्कृष्ट इनिङ्स खेले । उनी ११३ बलमा १२५ रन बनाएर अविजित फर्किए । उनले आफ्नो पारीमा १६ चौका र २ छक्का प्रहार गरे । पन्तले जो रुटको इनिङ्सको ४३ औं ओभरको पहिलो बलमा विजयी चौका प्रहार गरे ।
भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्याले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । हार्दिकले २४ रन खर्चेर ४ विकेट लिए । त्यसपछि ६ नम्बरमा ब्याटिङ गर्दै ७१ रन जोडे ।
भारतको ४ विकेट ७२ रनमा खसेको थियो । त्यसपछि पन्त र हार्दिकले ब्याटिङ गर्दै टोलीलाई २०० भन्दा माथि पुर्याए । उनीहरूले मिलेर पाँचौं विकेटका लागि १३३ रनको साझेदारी गरे।
लेग स्पिनर युजवेन्द्र चहलले पनि उत्कृष्ट प्रदर्शन गरे । उनले ३ विकेट लिए । तर, तिनीहरू अलि महँगो साबित भए। उनले ६.१ को इकोनोमी रेटमा रन दिए । चहलले डेभिड विली, क्रेग ओभरटन र रिस टोपलीलाई प्याभिलियन पठाए ।
तेज बलर मोहम्मद सिराजले आफ्नो पहिलो ओभरमा इंग्ल्याण्डलाई दुई ठूला झटका दिए जसले आयोजकलाई केही दबाबमा पारेको थियो। सिराजले ४ बलमा जोनी बेयरस्टो र जो रुटलाई प्याभिलियन पठाए । उनले इनिङ्सको दोस्रो ओभरको तेस्रो बलमा बेयरस्टो (०) र अन्तिम बलमा जो रुट (०) मा आउट गरे। इंग्ल्याण्डले ४५ दशमलव ५ ओभरमा २५९ रन मात्रै बनाउन सकेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |