राजविराज । सप्तरीको महादेवा गाउँपालिकाले तालिम नाममा एक कप चियाँको दुई सय ९० मनलाग्दी खर्च गरिएको छ । गाउपालिका वाट सामाजिक जीवन केन्द्र नेपालले दुईपटक तालिम सम्पन्न गरेबापत मनलाग्दी बिल पठाएर भुक्तानी लिएको पाईएको छ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गाउँपालिकाले प्रत्येक तालिममा केन्द्रलाई चियाखर्चबापत प्रतिकप दुई सय ९० रुपैयाँका दरले भुक्तानी दिएको छ ।
आर्थिक वर्ष ०७७/७८ को ११ र १२ असारमा कोभिड–१९ रोग रोकथाम, नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गरेबापत गाउँपालिकाबाट सामाजिक जीवन केन्द्र नेपालले चार लाख ९९ हजार नौ सय ९९ रुपैयाँ भुक्तानी लिएको थियो ।
यस तालिमका क्रममा चियाबापत प्रतिकप दुई सय ९० रुपैयाँ, चिसो प्रतिबोतल एक सय ५० रुपैयाँ र पानीको प्रतिबोतल ६० रुपैयाँ खर्च लागेको गाउँपालिकामा पेस गरिएको बिलमा उल्लेख छ ।
केन्द्रले त्यही वर्ष १५ र १६ असारमा अर्को तालिम सञ्चालन गर्यो । यतिवेला उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिइएको थियो । यस तालिमबापत पनि गाउँपालिकाले केन्द्रलाई चार लाख ९९ हजार नौ सय ९९ रुपैयाँ भुक्तानी दिएको छ । उक्त बिलमा पनि चियाखर्च प्रतिकप दुई सय ९०, चिसो प्रतिपिस एक सय १५ र पानीको प्रतिबोतल ६० रुपैयाँ उल्लेख छ ।
युवा अभियन्ता श्याम यादवले भने एक कप चियाको कति पर्छ, सबैलाई थाहा छ १५ रुपैयाँ, तर दुई सय ९० रुपैयाँ खर्च गरिएको छ, यो सरासर लुट हो । एउटा पानी बोतलको २० रुपैयाँ पर्छ, तर गाउँपालिकाले ६० रुपैयाँ दिएको छ । यो प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको खुलेआम लुट हो,’ उनले भने ।
यता महादेवा गाउँपालिकाका अध्यक्ष सुनीलकुमार मण्डलले भ्रष्टाचार गर्ने कर्मचारीलाई कारबाही गरिने बताए । उनले भने, ‘म भर्खर निर्वाचित भएर आएको छु । पाँच वर्षयताका सबै फाइल अध्ययन गर्न सुरु गरेको छु । यसअघिको गाउँपालिका अध्यक्ष र जुन कर्मचारीले यस्तो गरेको भए पनि उनीहरूलाई कारबाही गर्न अख्तियारलाई पत्राचार गर्छु।’
तत्कालीन समय गाउँपालिकामा रामलखन यादव प्रमुख प्रशासकीय अधिकृत थिए । अनियमितताबारे मा बुझन खोज्दाँ उनी सम्पर्क मा आउन चाहेन। गाउँपालिकाका तत्कालीन अध्यक्ष दीपककुमार यादवले यस विषयमा आफूलाई कुनै जानकारी नभएको दाबी गरे । ‘त्यतिवेला म अध्यक्ष थिएँँ । तर, भुक्तानी दिने काम प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको हो । यस विषयमा मलाई जानकारी छैन,’ उनले भने ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |