सुनसरी, २९ साउन । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ५ निवासी मनिला बुढाथोकीको गर्भपतन गराएको ३ दिनमा निधन भएको छ । बुढाथोकीको माइती पक्षबाट असामान्य निधन भएको भन्दै छानविनका लागि इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता गराएका छन् । बिरामीको विषयमा थाहा नदिइएको जब थाहा भयो त्यसबेला निधन भईसकेको मृतकका दाजु नवराज थापाले बताएका छन् ।
गत साउन २३ गते इटहरीको परिवार नियोजनमा गर्भपतन गराएकी मनिलाको अत्यधिक पेट दुखेर रक्तश्राव भएपछि उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ्गमा लगिएको र सोही रात उनको दश बजे निधन भएको परिवार पक्षले बताएका छन् । डाक्टरसँग लिएको जानकारी अनुसार मनिलालाई जण्डिस भएको, फोक्सो सुनिएको, पिसाब रोकिएको भएपनि पिसाब थैलीमा पिसाब भने नभएको पाइएको बताउँदै बहिनिको शवको प्रकृति हेर्दा मृत्यु नभई हत्याजस्तो देखिएकोले निष्पक्ष छानविनको माग गरेका छन्।
धनकुटा जिल्लाको पाख्रिबास नगरपालिकाबाट विवाह गरी इटहरी आएकी मनिला एक छोरीका आमा रहेको बताइएको छ । मृतकको शवको पोष्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको र पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाको विषयमा सत्यतथ्य बाहिर आउने इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |