एजेन्सी । खराब ब्याटिङको शिकार बनेको नेपाल टी– २० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत दोस्रो टी– २० मा घरेलु टिम केन्यासँग १८ रनले पराजित भएको छ ।
केन्याको राजधानी नौरबी स्थित जिमखाना क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा गर्न आएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको योगफल तयार पारेको थियो ।
१ सय ३३ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले २५, आदिल आलम र उपकप्तान रोहित पौडेलले २० – २० तथा पवन सर्राफ ले १९ रनबाहेक अन्य ब्याटर ले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
केन्याका लागि इमानुएल बुन्डी , लुकास ओलोच र भिराज पटेलले २ – २ विकेट लिए । यसअघि पहिलो इनिङमा केन्याका रकेप पटेलले सर्वाधिक ३५ रन बनाएका थिए । उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे । यसबाहेक, नेहेमिह ओधिएम्बोले २९, इर्फान करिमले २२ र सचिन भुडियाले १४ रन जोडे ।
नेपालका कप्तान सन्दीप लामिछानेले र दीपेन्द्र सिंह ऐरीले समान तीन विकेट लिए । यसबाहेक, करण केसीले दुई र पवन सर्राफ ले एक विकेट लिए । नेपालले केन्यासँग पाँच खेलको टी– २० शृंखला र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपालले केन्या माथि पाँच विकेटको जित निकालेको थियो ।
नेपाल र केन्याबीचको टी– २० शृंखला भदौ १४ गतेसम्म चल्नेछ । यसपछि भदौ १७ गतेदेखि यी दुई टिमले एकदिवसीय शृंखला खेल्नेछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |