राजविराज, १४ भाद्र । सप्तरी सहित तराई मधेसको मिथिला क्षेत्रमा श्रद्धाभक्ति र विधिपूर्वक चौरचन पर्व आज मनाइएको छ । वैदिक पात्रो अनुसार भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी तराई मधेसको मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले विशेष महत्वका साथ चौरचन पर्व मनाउने गर्छन ।
तराई मधेसको मिथिला क्षेत्रमा चौरचन पनि एक महत्त्वपूर्ण पर्व हो । मिथिलाञ्चलमा चौरचन पर्वको विशेष महत्व छ । भगवान श्री गणेश र चन्द्रदेवलाई समर्पित चौँठी चाँद अर्थात चौरचन पर्वको धेरै धार्मिक महत्व छ । यस दिन विवाहित महिलाले व्रत बस्छन् ।
चन्द्रमाको पूजा हुने यो पर्वमा माटोको भाँडामा जमाइएको दही, मिठाई, नरिवल, केरा, पुरीलगायतका सामग्री प्रसादको रुपमा राखेर चन्द्रमालाई चढाउने गरिन्छ । यस पर्वमा पकवान र दहीको विशेष महत्व हुन्छ । घरका सबै सदस्यहरूले पुजा पछि हातमा फलफूल, वा दही लिएर चन्द्रमाको दर्शन गर्छन् ।
मिथिलामा प्रकृतिसँग सम्बन्धित चाडपर्वको महत्व सधैँ उच्च रहेको छ । जहाँ एकातिर मिथिलावासीले सूर्यदेव को पूजाआराधना गरी छठ पर्व मनाइरहेका छन् । अर्कातिर चन्द्रमाको पूजाआजाका लागि चौरचन को पर्व पनि विशेष रुपमा मनाइन्छ । यस दिन चन्द्रमा देवताको पूजा गर्नाले झुटो कलङ्कबाट मुक्ति मिल्छ भने जन विश्वास छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |