जनकपुरधाम, ५ असोज । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नागरिकता सम्बन्धी विधेयक फिर्ता गरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको आरोप लगाएका छन् ।जनकपुरधामस्थित पुरानो ऐतिहासिक सरस्वती नमुना माध्यमिक विद्यालयको नयाँ भवन शिलान्यास कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति डा. यादवले सो कुरा बताएको हो।
दुई र दुई पटक दुबै सदनबाट पारित भएको नागरिकता सम्बन्धी विद्येयक फिर्ता गरेर राष्ट्रपतिले संविधान उल्लंघन गर्ने काम गरेको टिप्पणी गर्नुहुँदै उहाँले संविधानमा राष्ट्रपतिलाई एक पटक पुनर्विचारको लागि विद्येयक फिर्ता गर्न सक्ने अधिकार भएपनि दुई पटक फिर्ता गर्ने अधिकार नभएको जिकिर गर्नुभयो ।
पछिल्लो समय संविधान र लोकतन्त्रमाथि हमला हुने काम भएकोले पुनः मुलुकमा निरंकुशता जन्मिने खतरा बढेको बताउनुभयो । उहाँले जनता सजग र सचेत नभए पुनः मुलुकमा प्रतिगमन आउन सक्ने उल्लेख गर्नुहुँदै उहाँले सबै निकाय संविधानको मर्म र भावना अनुसार अघि बढ्न सके मात्र संविधानको रक्षा हुने बताउनुभयो ।
शिक्षाको स्वामित्व समाजले नलिएसम्म शिक्षा क्षेत्रले अपेक्षित परिणाम दिन नसक्ने जिकिर गर्नुहुँदै उहाँले सरकारको मात्र मुख हेरेर नभई शिक्षाको स्वामित्वसँगै निगरानी समाजले लिनुपर्नेमा जोड दिनुभयो ।
समुदायले शिक्षाको महत्व नबुझेसम्म शिक्षा क्षेत्र अघि बढ्न नसक्ने र बेरोजगारी समस्या समेत समाधान नहुने उल्लेख गर्नुहुँदै उहाँले समुदायले शिक्षा हाम्रो हो, हामी शिक्षा क्षेत्रलाई अघि बढाउनुपर्छ भन्ने मनोभावना नलिएसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो ।
‘‘ पहिला पहिला समाजले शिक्षालाई महत्वका साथ लिन्थ्यो, निगरानी गर्दथ्यो त्यसैले त्यतिबेला सरकारी विद्यालयहरूको स्तर माथि थियो ठूला ठूला विद्धान हरु उत्पादन गर्दथ्यो”, उहाँले भन्नुभयो,‘‘ तर अहिले समाजलाई शिक्षासँग कुनै मतलब छैन्, निजी विद्यालयहरू थुप्रै खुलेका छन्, सरकारी विद्यालयका शिक्षकहरू राजनीतिमा लागेका छन्, विद्यालयहरूको अवस्था बेहाल छन्, जसका कारण शिक्षा क्षेत्र तहस नहस हुँदै गएको छ ।”
त्यसैले समुदाय, विद्यार्थी, अभिभावक, जनप्रतिनिधिहरू सबैले विद्यालय हाम्रो हो, हामीले बनाउनुपर्छ भन्ने भावना जागृत गर्नुपर्छ उहाँको भनाई थियो ।
कार्यक्रममा शहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक, संस्कृति र ऐतिहासिक नगरी जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार गम्भीर रहेको उल्लेख गर्नुहुँदै मन्त्री चौधरीले यहाँका पोखरी तथा मठमन्दिर हरुको जिर्णोद्धार लगायतका कार्य भईरहेको जानकारी दिनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहको अध्यक्षतामा आयोजित विद्यालय भवन शिलान्यास कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा। रमेश प्रसाद सिंहले कुल १० करोडको लागतमा निर्माण हुन लागेको विद्यालय भवन निर्माण कार्य १५ महिनाभित्र सम्पन्न हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पुरानो वस्तुकलामा आधारित भई आधुनिक निर्माण सामग्री प्रयोग गरी तयार हुने दुई तल्ले विद्यालय भवन निर्माणका लागि गणपति बाबा निर्माण सेवा प्रालि धुलिखेलले सम्झौता गरेको र आगामी २०८० मङ्सिर ३० गते भित्र निर्माण सकिने सम्झौता भएको संघीय आयोजना कार्यान्वयन ईकाई जनकपुरधाम धनुषाका प्रमुख प्रदीप खनालले जानकारी दिनुभयो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |