राजविराज, ९ असोज । सप्तरी आएका नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भूपेन्द्र थापाले सप्तरी आएर सेवा गर्न पाउँदा खुशी लागेको बताए ।
आइतबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रजिअ थापाले पत्रकारहरूलाई सुरक्षा र सूचना प्रदान गर्ने कार्यमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । पत्रकारलाई सूचना उपलब्ध गराउन राज्यको दायित्व हो, प्रजिअ थापाले भने, सञ्चारकर्मीलाई सहज सूचना दिनलाई कुनै कार्यालयबाट असहयोग हुनुहुँदैन ।
जिल्लाको सुरक्षा व्यवस्थालाई पारदर्शी र चुस्त दुरुस्त राख्न पत्रकारहरूको साथ आवश्यक छ, प्रजिअ थापाले भने, आसन्न मंसिर ४ गतेको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, र धाँधलीरहित बनाउनेमा सञ्चारक्षेत्रको महत्वपूर्ण भूमिका आवश्यक पर्छ । सबै क्षेत्रको सहयोग लिएर मात्र निर्वाचनलाई सफल बनाउन सकिन्छ ।
पत्रकारहरूले दिएको सुझावलाई सकारात्मक रूपले लिएको बताउँदै प्रजिअ थापाले सबै क्षेत्रको सल्लाह आधारमा सुरक्षा रणनीति बनाउन तत्पर रहेको बताए ।
उनले चाडबाडको समयमा हुने सवारी दुर्घटना, चोरी, अवैध रुपमा हुने तस्करी, अवैध मदिरा बिक्रीवितरणलाई नियन्त्रण गर्न सुरक्षा निकाय गम्भीर रुपमा लागेको बताए । जिल्लामा हुने आपराधिक क्रियाकलापलाई रोक्न जिल्ला सुरक्षा रणनीति बनाई प्रहरी परिचालन गरिएको समेत उनले सम्बोधन गर्दै प्रजिअ थापाले उक्त कुरा बताएका हुन् ।
अर्को प्रसङ्गमा उनले भने, मेरो घर जुम्ला हो, तर सप्तरीसँग मेरो सुमधुर सम्बन्ध रहेको बताए । सप्तरीकै शिक्षकले शिक्षा दिएपछि आफू सीडीओ बनेर सप्तरीमै आएकोमा आफू भाग्यमानी भएको उनले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |