राजविराज, ११ असोज । संसदबाट पारित नागरिकता ऎन सम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको विरुद्धमा जसपा निकट जनवर्गीय संगठन द्वारा सप्तरी सदरमुकाम राजविराजमा मंगलबार विरोध प्रदर्शन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीको पुतला दहन गरेका छन् ।
संविधान उल्लंघन गर्ने राष्ट्रपति राजीनामा गर, कठपुतली राष्ट्रपति भण्डारी मुर्दावाद, नागरिकता ऎन सम्बन्धी विधेयक प्रमाणीकरण गर, महिला, विद्यार्थी युवा लगायतका सम्पूर्ण उत्पीडित समुदाय एक हऔं, विद्या तेरो पाराले दुख पाए साराले जस्ता नारा लगाउदै राष्ट्रपति विरुद्ध उत्रिएका महिला, युवा विद्यार्थीहरूले जनआन्दोलन चौक ( दशन चौक) पुगेर राष्ट्रपति भण्डारीको पुतला दहन गरेका थिए ।
पुतला दहन पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै वक्ताहरूले लाखौं नेपाली जनतालाई नागरिकता विहीन बनाएको भन्दै राष्ट्रपति भण्डारीको राजीनामा माग गरे ।
समाजवादी युवा संघ सप्तरीका अध्यक्ष शिवम यादवको अध्यक्षतामा आयोजित कोणसभालाई जसपा केन्द्रिय सदस्य महिला नेत्री समिला साह, सावित्री पंडित, समाजवादी युवा संघका प्रदेश उपाध्यक्ष भुवनेश्वर यादव (थापा) जिल्ला उपाध्यक्ष केदार यादव, समाजवादी विद्यार्थी युनियन सप्तरीका उपाध्यक्ष अनिल कुमार साह लगायतकाले सम्बोधन गरे ।
राष्ट्रभण्डारीको पुतला दहनको क्रममा प्रहरी र प्रदर्शनकारी विच सामान्य घम्साघम्सी समेत भएको थियो । जलिरहेको पुतला प्रहरीले खोस्ने क्रममा युवा अध्यक्ष शिवम यादव र महिला नेत्री उषा देव यादव घाईते भएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |