राजबिराज, १२ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ का विशेश्वर शर्माले आफ्नो धितोमा राखेको जग्गा मिटरब्याजी पवनले फिर्ता गर्न नमानेको र उठिवास गराउन खोजेकोले न्यायको लागि पहल गरिदिन सबै आग्रह गरेका छन् ।
राजविराजमा बुधबार पत्रकार सम्मेलन गर्दै शर्माले ऋण चुक्ता गरी धितो जग्गा फिर्ता गर्न माग राख्दा छिन्मस्ता ६ का पवन कुमार साहु साहले बहाना लगाउने गर्ने गरेको बताए ।
घरायसी कामका लागि बुबाले २०६९ सालमा साहसँग १ लाख १५ हजार ऋणमा लिएर घरबारी रजिष्ट्रेशन गरि दिएका थिए, शर्माले भने, एक वर्षपछि व्याज र केही साँवा गरी ५४ हजार चुक्ता समेत गरिदिएको छ, पत्रकार सम्मेलनमा उनले थपे, बाँकी साँवा व्याज चुक्ता गर्छु धितो जग्गा फिर्ता गर्न पटकपटक अनुरोध गर्दा आलटाल गर्दै आएको छ ।
साहले बाँकी साँवा व्याज बुझ्न नमानेको र कपाली तमसुक कागज दिन इन्कार गरेको शर्माको आरोप छ । साहले उल्टै झैँझगडा गरी थप मुद्दा गर्छु भनी धाक धम्की दिएको उनले दुखेसो पोखे । आफ्नो नाममा जग्गा पास गरी साहले बुबासँग थप ५ लाखको कपाली तमसुकको कागत समेत बनाउन लगाएको शर्माले पत्रकार सम्मेलनमा बताए ।
१ लाख १५ हजारमा जग्गा समेत हडपे, शर्माले भने, नलिएको थप ५ लाखको तमसुक कपाली बाउन लगाए, अहिले आएर २० लाख ६६ हजार ७ सय ६१ रुपैयाँ भयो, पैसा बुझाई दिनुस् अनि मात्र जग्गा र कपाली कागत फिर्ता गरिदिन्छु भन्दै साहले घरजग्गा खाली गर्न दिनहुँ दवाव र तनाव दिने गरेको छ ।
शर्माले १ लाख १५ हजारको साँवा व्याज गरी ४ लाख १५ हजार दिन तयार हुँदा समेत साहले घरजग्गा र कपाली कागत फिर्ता गर्न आलटाल गरेको बताए । साहले आफ्नै हातले जोडेर ८ वर्ष ७ महिनाको साँवा व्याज गरी २० लाख ६६ हजार ७ सय ४१ रुपैयाँ जोडेर तिर्न दवाव दिएको कागतको प्रमाण देखाउँदै शर्माले १ लाख १५ हजारको साँवा व्याज यतिका धेरै जोडेर अन्याय गरेको बताए ।
धितो राखेको घरजग्गा र कपाली कागत फिर्ताका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जानकारी दिदै शर्माले उठिबास हुनबाट जोगाइदिन र न्यायको लागि पहल गरिदिन पत्रकार सम्मेलनमार्फत सरोकारवाला सबैमा आग्रह गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |