राजविराज, १३ असोज । मधेश प्रदेश समाजिक विकास मन्त्री नवलकिसोर साहले जनताको जीवन सँग जुडेको विषय नागरिकता भएकोले राष्ट्रपतिले नागरिकता विधेयक पास नगरी २०७२ को संविधानको उल्लंघन गरेको आरोप लगाएका छन् ।
उनले भने राष्ट्रपतिले संविधानको पालना नगरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवै सदनले दुई पटक संसद्ले पास गरेको विधेयक राष्ट्रपतिले प्रमाणिकरण नगरी संविधानको उल्लंघन गरेको आरोप लगाए।मन्त्री साहले सदियौँ देखीको उत्पीडित जातिसमुदायले सम्मान अधिकार प्राप्त नगरेसम्म देशमा समृद्धि आउन नसक्ने दावी गरे ।
जसपा राजनैतिक समिति सदस्य एवम् संविधान सभा सदस्य रञ्जु ठाकुरले राष्ट्रपति भण्डारीलाई संसदबाट पारित नागरिकता विधेयक रोक्ने अधिकार संविधानले नदिएको जिकिर गरिन । उनले राष्ट्रपति भण्डारीले नेपालको संविधानको घोर उल्लंघन गरेको आरोप लगाइन । एमाले देशमा संविधान उल्लंघन गर्ने सबैभन्दा अग्रपङ्तिमा रहेको उनले आरोप लगाइन ।
जसपा केन्द्रिय सदस्य विकास तिवारीले नागरिकताको समस्या मधेसीमाथि थुपार्ने तथा भ्रमको खेती गर्ने प्रतिगामी शक्तिको इसारामा पदीय मर्यादा विपरीत कदम उठाएर राष्ट्रपतिले नाङ्गो नाच देखाएको बताए । राष्ट्रपतिको कदमले देशलाई अन्तर्राष्ट्रिय जगतमै बदनाम गराएको भन्दै देशको प्रतिष्ठालाई जोगाउन राष्ट्रपतिको कदम विरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।
त्यस्तै जसपा राजनीति समिति सदस्य बिनोद चौधरीले नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गर्न एमाले लागि परेर नेपाली जनतामाथि ठूलो अन्याय गरेको टिप्पणी गरे ।
जसपा जिल्ला अध्यक्ष केदार यादवले नेपाली नागरिकलाई नागरिकता पाउनुपर्छ भनेर हाम्रो पार्टी अझैपनि सङ्घर्षमा नै छ, भने, उत्पीडित जातिसमुदायको अधिकार सुनिश्चितताका लागि सरकार, सदन र सडकमा संघर्ष निरन्तर जारी नै छ । यसैगरी जसपा नेता प्रभाकर यादवले पहिचान, प्रतिनिधित्व, समावेशिता र अधिकारका लागि उत्पीडित जनसमुदायहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजनैतिक समिति सदस्य विशेश्वर रजक, केन्द्रिय सदस्यहरु चित्त नारायण यादव, कैलाश यादव, केन्द्रिय सल्लाहकार सुमन चौधरी, मधेश प्रदेश समिति सचिव युसुफ अलि, मधेश प्रदेश समिति सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज कौशेन्द्र यादव, सदस्य शिवशंकर यादव, अमृत साफी, मधेश प्रदेश परिषद सदस्य उपेन्द्र प्रसाद साह, जसपा क्षेत्र नम्बर २ का अध्यक्ष नारायण प्रसाद यादव, ४ का अध्यक्ष अरविन्द कुमार यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष मनिस यादव, युवा नेता राज नारायण यादव लगायतले बोल्दै नागरिकता विधेयक प्रमाणीकरण नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
जसपा जिल्ला उपसचिव शम्भु कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत सचिव हरेराम यादवले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |