राजविराज, २६ असोज । सप्तरीका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक प्रदिप खड्कालाई हेडक्वार्टर तानिएको छ ।
सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादव मृत भेटिएको घटनामा अनुसन्धानका लागि सशस्त्रका प्रहरी उपरीक्षक एसपी प्रदिप खड्का हेडक्वार्टर तानिएको हो ।
गत बिहीवार दिउँसो सीमावर्ती भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको जिरोगा ग्राम पञ्चायत अर्नामा स्थित घोरदह खोलामा असई यादव मृत भेटिएका थिए । सो घटनामा अनुसन्धानका लागि एसपी खड्कालाई हेडक्वार्टर तानिएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए ।
नेपाल-भारत सीमाभन्दा करिब ३ किलोमिटर दक्षिणमा पर्ने सो ठाउँमा भेटिएको असईको शरीरमा लुगा नभएको अवस्थामा शव भेटिएको थियो भने टाउकोमा पनि चोट देखिएपनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थप कुराहरू खुल्नसक्ने प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |