राजविराज,२९ असोज । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ जना व्यक्ति र ८ वटा संस्थालाई स्पष्टीकरण सोधेको छ ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन का सम्बन्धमा आयोगमा परेका उजुरी को आधारमा ६ जना व्यक्ति र ८ वटा संस्थालाई स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले जनाएको छ ।
जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे पचरौता, नुवाकोट १ का प्रतिनिधि सभा उम्मेदवार बद्री मैनाली, नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल वस्तीलाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिएका छन् ।
यसैगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता भट्टराईले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |