राजबिराज, १६ कार्तिक । सप्तरीको तिरहुत गाउँपालिका ४ स्थित डिमनमा बुधबार जग्गा विवादको विषयमा झडप हुँदा तीन जना घाइते भएका छन् ।
स्थानीय रामेश्वर यादव समूहको आक्रमणबाट ६५ वर्षीय सुर्य नारायण यादव र उनका छोरा अरुण यादव घाईते भएका हुन् । अंशबन्डामा चित्त नबुझेको भन्दै आफ्नै दाजु रामेश्वर सहित छोराहरू मनोज यादव, संजय यादव गरी ३ जनाले कुटपिट गरेको घाईते सूर्यनारायणले आरोप लगाए।
उनीहरुले मरणासन्न हुने गरी बुवालाई कुटेको पीडित सूर्य नारायणको जेठो छोरा बरुण यादवले जानकारी दिए । ईट्टा प्रहारले टाउको फुटेको बुबालाई बचाउन गएका भाइलाई मुक्काले हिर्काउँदा उनको शरीरको बिभिन्न भागमा चोटपटक लागेको उनले बताए । उनीहरूको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापश्चात पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको छ । पीडितको ठाडो उजुरीका आधारमा प्रहरी कार्यालयले घाउ जाँचको चिठ्ठी काटेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।
यता आरोपित मनोज यादवले आफूहरूले कुटपिट गरेको आरोप निराधार रहेको बताए । उनले काका सुर्यनारायण यादवले ममाथि इँटा प्रहार गर्दा रोक्न खोज्दा आफ्नै हातको इँटा टाउकोमा लागेर चोट लागेको बताए ।
बिहान ९ बजे बच्चालाई विद्यालय लैजान हिँडेका थिए, मनोजले भने, काकासहित अरुणले बाटो छेकेर फर्याईएर मात्र निस्की भन्दै इँटा लिएर आक्रमणमा उत्रिए, उनीहरूले ममाथि इँटा प्रहार गर्दा छाती र खुट्टामा चोट लागेको छ ।
उनले पुरानो रिसको प्रतिशोध लिनका लागि इँटा प्रहारको आरोप लगाएको बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |